गाैमुल खबर डटकम आइतबार ३१, साउन २०८३ ०२:३१

पहिरो पीडितको पीडामा मल्हम लगाउन त्रिवेणीको अपिल : राहतदेखि पुनर्स्थापनासम्म जुट्न आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन ३१, २०८३
पहिरो पीडितको पीडामा मल्हम लगाउन त्रिवेणीको अपिल : राहतदेखि पुनर्स्थापनासम्म जुट्न आग्रह

बाजुरा ःअविरल वर्षासँगै आएको पहिरोका कारण जनधनको क्षति भएपछि बाजुराको त्रिवेणी नगरपालिकाले प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोगको अपिल गरेको छ।

त्रिवेणी नगरपालिकाका अनुसार २०८३ भदौ २५ गतेदेखि परेको अविरल वर्षाका कारण त्रिवेणी नगरपालिका-९ ताम्सुमा रातिको समयमा पहिरो गएको थियो। पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पहिरोले स्थानीय धर्म थापा र कर्ण थापाको घरमा समेत क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ। विपद्को घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। नगरपालिकाको विपद् व्यवस्थापन समिति तथा नगरकार्यपालिकाको बैठकले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, उद्धार तथा पुनर्स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

प्रभावित परिवारको स्थलगत निरीक्षण गरी क्षतिको यथार्थ विवरण संकलन गर्ने र आवश्यकताका आधारमा राहत तथा पुनर्स्थापनाको कार्ययोजना बनाउने नगरपालिकाले जनाएको छ।

तत्कालका लागि प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, ग्यास, कम्बल लगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको छ। स्थानीय स्रोत तथा साधनबाट सम्भव भएसम्म सामग्री जुटाएर पीडित परिवारलाई सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ।

विपद्को क्षति ठूलो भएकाले स्थानीय स्रोतबाट मात्र प्रभावित परिवारको राहत तथा पुनर्स्थापना सम्भव नहुने भन्दै नगरपालिकाले नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ-संस्था, निजी क्षेत्र, सामाजिक संघ-संस्था तथा सहयोगी मनहरूलाई एकद्वार प्रणालीमार्फत सहयोग गर्न आग्रह गरेको छ।

नगरपालिकाले विपद् प्रभावित परिवारलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले त्रिवेणी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न सक्ने जनाएको छ। त्यसका लागि नेपाल बैंक लिमिटेड, त्रिवेणी शाखा, बाजुरा मा खाता सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारको जीवनयापन सहज बनाउन तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा समेत हातेमालो गर्न सबै सरकारी निकाय, संघ-संस्था, निजी क्षेत्र तथा सहयोगी दाताहरूलाई आग्रह गरेको छ।

No description available.

प्रतिक्रिया