गाैमुल खबर डटकम आइतबार ३१, साउन २०८३ ०२:३०

रोल्पा पहिरो : पछिल्लो ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन ३१, २०८३
रोल्पा पहिरो : पछिल्लो ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता

रोल्पा ःअविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएको जनाइएको छ । पहिरोमा पुरिएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रहरी र स्थानीयबासीको सहयोगमा पहिरोमा पुरिएको घरबाट शव निकाल्ने तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

शनिबार राति पहिरोमा परेर थप एक जनाको मृत्यु भएसँगै बुधबार यता पहिरोमा परी रोल्पामा मात्रै मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् । २ जनाको बुटवलमा उपचार चलिरहेको छ ।

त्यस्तै बिहीबार सुनछहरी गाउँपालिका-२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको थियो । रोल्पाको पूर्वी क्षेत्रमा पाँच दिनको अवधिमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अझै १ जना बेपत्ता छन् ।

प्रतिक्रिया