बाजुरा ः पहिरोसँगै खसेको ढुङ्गाले बसमा ठक्कर दिँदा कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका-५, भुकाखोलामा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मंगलबार दिउँसो करिब २ः३० बजे सुर्खेत-कालिकोट-बाजुरा-हुम्ला सडकखण्डको भुकाखोलामा सडक माथिबाट पहिरोसँगै खसेको ढुङ्गा सुर्खेतबाट हुम्लातर्फ जाँदै गरेको भे १ ख २८३१ नम्बरको बसमा लागेको थियो ।
ढुङ्गाले बसको अगाडीको भागमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ । बसमा चालक सहित ७ जना सवार रहेकोमा सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रवक्ता नरेश शाहीले जानकारी दिएका छन् ।
सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय बाजुरा अन्तर्गत प्रहरी चौकी जुड्डीबाट प्रहरी टोली घटनास्थलमा पुगेर सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी सडक विभागको जेसीबी परिचालन गरेर पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
निरन्तर वर्षाका कारण सडक माथिबाट पहिरो खसिरहेकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको र उक्त स्थान जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ । प्रहरीले कर्णाली करिडोर हुँदै आवतजावत गर्ने सवारी चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
सडक पूर्ण रुपमा सञ्चालनमा नआएसम्म धैर्य गर्न तथा सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले सबै नागरिकलाई अनुरोध गरेको छ ।





प्रतिक्रिया