बाजुरा ःअहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो केही घण्टायता बागमती प्रदेशका केही स्थानसहित अन्य प्रदेशका थोरै ठाउँमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो एक घण्टामा लुम्बिनी प्रदेशको पाल्पास्थित अर्सले क्षेत्रमा करिब ३५ मिलिमिटर वर्षा भएको छ । पछिल्लो ६ घण्टाको विवरणअनुसार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भएको छ ।
पश्चिमी भूभाग वर्षाको गतिविधि धेरै, काठमाडौंमा दिउँसोसम्म पानी पर्ने
आज दिनभर काठमाडौं उपत्यकासहित देशभर बदली रहने र विभिन्न स्थानमा वर्षा भइरहने मौसमविद् लामिछानेले बताए । उनका अनुसार विशेषगरी पश्चिमी भूभाग र पूर्वी तराईका केही क्षेत्रमा वर्षाको सम्भावना छ । साँझ तथा रातिको समयमा वर्षाको सम्भावना अझ बढ्ने अनुमान गरिएको छ ।
राति पनि देशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसोसम्म वर्षा हुन सक्ने सम्भावना रहेको लामिछानेले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा राति तथा भोलि बिहानदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने देखिएको छ ।
भोलि र पर्सिदेखि मौसममा सुधार हुने सम्भावना
तीन दिनको मौसम पूर्वानुमानअनुसार आजको तुलनामा भोलि र पर्सि मौसममा क्रमिक सुधार हुने देखिएको छ । भोलि र पर्सि अपराह्न तथा साँझतिर केही स्थानमा बादल विकास भई हल्कादेखि मध्यम वर्षा हुन सक्ने भए पनि आजजस्तो व्यापक तथा भारी वर्षाको सम्भावना नरहेको लामिछानेले बताए ।
आज रातिदेखि भोलि बिहानसम्म विशेषगरी पश्चिमी भूभागमा वर्षाको सम्भावना बढी रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा बढी वर्षा हुन सक्ने तथा अन्य प्रदेशमा पनि मध्यमदेखि एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
खोला तथा नदी आसपासका बस्ती र पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन तथा मौसम सम्बन्धी आधिकारिक सूचना लिएर मात्र आवश्यक काम-कारबाही अघि बढाउन मौसमविद् लामिछानेले अनुरोध गरेका छन् ।





प्रतिक्रिया