बाजुरा ःधार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध बाजुराको बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि पूजा आजा सुरु हुने भएको छ । बडीमालिका माताको मुख्य पूजा भने भदौ ११ गते हुने भएको छ ।
मुख्य पूजाको दिन मात्रै अत्यधिक भीड हुने र टाढाटाढाबाट आउने तीर्थालुलाई दर्शन गर्न कठिन हुने भएकाले यस वर्ष भदौ १ गतेदेखि नै पूजाआजा सुरु गर्न लागिएको बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायले बताएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बडीमालिका-बुढीनन्दा मेला व्यवस्थापनका विषयमा आयोजित सर्वपक्षीय छलफलमा पुजारी पाध्यायले मुख्य पूजासँगै अन्य समयमा पनि भक्तजन तथा पर्यटक बडीमालिका पुग्ने क्रम बढेकाले सहज दर्शनका लागि अगावै पूजाbआजा सुरु गर्न लागिएको जानकारी दिएका हुन् ।
हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीमा मुख्य पूजा गर्ने परम्परा रहेको छ । तर, पछिल्लो समय बडीमालिकामा पुग्ने भक्तजनको संख्या बढ्दै गएपछि मुख्य पूजाको आसपास हुने भीड व्यवस्थापन चुनौती बन्दै आएको छ ।
गत वर्ष बडीमालिका माताको नयाँ मन्दिर निर्माण सम्पन्न भएको अवसरमा मुख्य पूजा साउन २३ गते गरिएको थियो । तर, भक्तजनको सहजताका लागि साउन १४ गतेदेखि नै नवाह लगाएर पूजा आजा सुरु गरिएको थियो ।
यस वर्ष पनि सोही अभ्यासलाई निरन्तरता दिँदै भदौ १ गतेदेखि पूजा सुरु गर्ने तयारी गरिएको हो । बडीमालिकामा लाग्ने वार्षिक मेलामा बाजुरा सहित देशका विभिन्न जिल्लाबाट मात्रै नभई छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली बडीमालिका जाने परम्परा समेत छ ।
गत वर्ष मात्रै करिब ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिकाको दर्शन गरेको बताइएको छ । यस वर्ष पनि भक्तजन तथा पर्यटकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका पछिल्लो समय धार्मिक आस्थासँगै प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यसमेत बन्दै गएको छ ।
गत वर्ष नेपाली सेनाले करिब दुई करोड रुपैयाँको लागतमा प्यागोडा शैलीको कलात्मक बडीमालिका मन्दिर निर्माण गरेपछि यहाँको आकर्षण थप बढेको स्थानीय बताउँछन् ।
स्थानीयका अनुसार पछिल्ला वर्षमा बडीमालिकाको प्रचारप्रसार बढेसँगै दर्शन तथा अवलोकनका लागि पुग्नेको संख्या उल्लेख्य रूपमा बढिरहेको छ ।
मेला अघि नै टेलिकम टावर राखिँदै
बडीमालिका पुग्ने भक्तजन तथा पर्यटकले लामो समयदेखि भोग्दै आएको मोबाइल नेटवर्कको समस्या समाधान गर्न यस वर्षको मेला अगावै टेलिकम टावर राख्ने काम भइरहेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताएका छन् ।
उनका अनुसार बडीमालिकामा बढ्दो पर्यटक तथा तीर्थालुको चापलाई मध्यनजर गर्दै सञ्चार, स्वास्थ्य तथा अन्य आधारभूत सेवा सुधारमा पनि स्थानीय तहले पहल गरिरहेको छ ।
बडीमालिका धार्मिक आस्थाको केन्द्र मात्रै होइन, प्राकृतिक सौन्दर्यका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो । मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, खेतीबेती, विष्णुपानी र धर्मद्वार यहाँका प्रमुख आकर्षण हुन् ।
खेतीबेती क्षेत्रमा भगवती र महिषासुरबीच युद्ध हुँदा रोपिँदै गरेको धान यथास्थितिमा रहेको भन्ने किंवदन्ती समेत प्रचलित छ । यहाँ डाँफे, मुनाल, कस्तुरी लगायत दुर्लभ चराचुरुङ्गी तथा वन्यजन्तु पाइने बताइन्छ ।
बडीमालिकाको टुप्पोबाट मौसम खुलेका बेला अपी, सैपाल लगायत हिम शृंखलाको मनोरम दृश्य देख्न सकिन्छ । हराभरा पाटन, रंगीचंगी फूल, दुर्लभ वन्यजन्तु, हिमाली दृश्य र धार्मिक किंवदन्तीले बडीमालिकालाई विशिष्ट गन्तव्य बनाएको छ ।
बडीमालिकाको धार्मिक तथा पर्यटकीय महत्व बढ्दै गएपनि त्यहाँ पुग्ने पूर्वाधार भने अझै पर्याप्त छैन् । सहज पैदलमार्ग, खानेपानी, शौचालय, धर्मशाला, बासस्थान तथा बाटोमा आवश्यक संकेत चिह्नको अभावका कारण तीर्थालु तथा पर्यटकले कठिनाइ भोग्दै आएका छन् ।
कतिपय स्थानमा व्यवस्थित पैदलमार्ग समेत नहुँदा वर्षायाममा बाटो चिप्लिएर तीर्थालु घाइते हुने तथा ज्यान समेत गुमाउने घटना हुँदै आएका छन् ।
बडीमालिकाको धार्मिक महत्व र पर्यटकीय सम्भावना बढ्दै गएको अवस्थामा यसको संरक्षण, पूर्वाधार विकास र व्यवस्थित मेला व्यवस्थापनमा राज्यको दीर्घकालीन ध्यान जानुपर्ने स्थानीयको माग छ ।
स्थानीयले बडीमालिकालाई व्यवस्थित रूपमा संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक परे राज्यको स्वामित्वमा संरक्षण क्षेत्र वा छुट्टै व्यवस्थापन समिति गठन गरी दीर्घकालीन योजना अघि बढाउनुपर्ने बताएका छन् ।
यस वर्ष भदौ १ गतेदेखि पूजाआजा सुरु हुने र भदौ ११ गते मुख्य पूजा हुने भएपछि बडीमालिका क्षेत्रमा तीर्थालु तथा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक परम्पराको संगम बडीमालिका यस वर्षको मेलासँगै थप चर्चामा आउने देखिएको छ ।





प्रतिक्रिया