बाजुरा ः संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ को अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ।
एमाले जिल्ला कमिटी बाजुराको आयोजनामा पार्टी कार्यालयबाट शान्ति र्याली निकालिएको थियो। र्यालीले बाजुरा सदरमुकाम मार्तडी बजारको परिक्रमा गरेको थियो।
र्यालीपछि जिल्ला अस्पताल बाजुरामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी विकले बताएका छन् । बिरामीलाई फलफूल वितरणपछि लोकतान्त्रिक चोकमा कोणसभा आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको हाे ।
कार्यक्रममा सहभागी एमाले नेता तथा कार्यकर्ताले नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय एकताको महत्वबारे चर्चा गर्दै संविधानको प्रभावकारी कार्यान्वयन मार्फत नागरिकका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
उनीहरूले संविधानले प्रत्याभूत गरेका मौलिक हक, लोकतान्त्रिक मूल्य-मान्यता तथा नागरिक अधिकारको संरक्षण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ता, महिला र स्थानीयवासीको सहभागिता रहेको थियो। संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। विसं २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो।






प्रतिक्रिया