गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०४

अंग्रेजी माध्यमको पढाइ सुरु भएपछि अभिभावकमा खुसी : कीर्तिचौर माविमा शैक्षिक गुणस्तर सुधारको संकेत

अब गुणस्तर र नतिजामा ध्यान दिनुपर्ने चुनौती
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन २०, २०८३
अंग्रेजी माध्यमको पढाइ सुरु भएपछि अभिभावकमा खुसी : कीर्तिचौर माविमा शैक्षिक गुणस्तर सुधारको संकेत

बाजुरा ःगौमुल गाउँपालिका-४ मा रहेको कीर्तिचौर माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि स्थानीय अभिभावक तथा विद्यार्थी उत्साहित भएका छन् ।

गाउँमै अंग्रेजी माध्यमको शिक्षा पाउने अवसर सिर्जना भएपछि विशेषगरी विपन्न तथा गरिब परिवारका अभिभावकले राहत महसुस गरेका छन् ।

विद्यालयमा सञ्चालन भइरहेको अंग्रेजी माध्यमको पठनपाठनको प्रभावकारिता तथा समग्र शैक्षिक गुणस्तरको अवस्थाबारे जानकारी लिन बुधबार विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको टोली विद्यालय पुगेको थियो ।

वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर विकको नेतृत्वमा पुगेको टोलीले कक्षाकोठामा भइरहेको पठनपाठन, विद्यार्थीको सहभागिता तथा शैक्षिक गतिविधिको अवस्थाबारे जानकारी लिएको हो ।

कीर्तिचौर माध्यमिक विद्यालयमा गत वैशाख २१ गतेदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको हो । अंग्रेजी माध्यमको पढाइ सुरु भएपछि स्थानीय विद्यार्थीलाई गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने प्रयासले गति लिएको छ ।

निजी विद्यालयको महँगो शुल्कबाट विपन्न परिवारलाई राहत

गाउँमा अंग्रेजी माध्यमको पढाइ नहुँदा विगतमा कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पठाउनुपर्ने बाध्यता थियो ।

तर, अहिले आफ्नै गाउँको विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन सुरु भएपछि आर्थिक रुपमा कमजोर परिवारलाई ठूलो राहत भएको स्थानीय अभिभावक डबल चदाँरा बताउँछन् ।

गाउँमै अंग्रेजी माध्यमको शिक्षा उपलब्ध हुनु सामान्य विषय नभई आर्थिक रुपमा कमजोर परिवारका बालबालिकाका लागि समान शैक्षिक अवसर सिर्जना गर्ने महत्वपूर्ण प्रयास भएको उल्लेख गरेका छन् ।

“महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउनुपर्ने बाध्यता थियो । अहिले गाउँमै अंग्रेजी माध्यमको पढाइ सुरु भएपछि हामी जस्ता विपन्न परिवारलाई निकै राहत भएको छ,” चदाँराले भने । 

अमर विकको पहलप्रति अभिभावक सकारात्मक

विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्ने वातावरण निर्माण गर्न वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर विकले देखाएको सक्रियताप्रति स्थानीय अभिभावक सकारात्मक देखिएका छन् ।
स्थानीयको अपेक्षा भनेको अंग्रेजी माध्यम सुरु गर्नु मात्र नभई त्यसको गुणस्तर, शिक्षकको क्षमता, विद्यार्थीको सिकाइ उपलब्धि र निरन्तरतामा समेत ध्यान दिनुपर्ने रहेको छ ।

विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक र वडा नेतृत्व बीचको सहकार्यले मात्रै अंग्रेजी माध्यमको कक्षा दीर्घकालीन रूपमा प्रभावकारी बन्न सक्ने अभिभावकहरूको धारणा छ ।

वडा अध्यक्ष विकको नेतृत्वमा विद्यालयको शैक्षिक अवस्था प्रत्यक्ष रुपमा बुझ्ने, कक्षाकोठाको पठनपाठन नियमन गर्ने र विद्यालयको गुणस्तर सुधारमा चासो देखाउने प्रयासले अभिभावकमा सकारात्मक सन्देश गएको छ ।

अंग्रेजी माध्यम मात्रै होइन, गुणस्तरीय शिक्षा मुख्य चुनौती

गाउँमै अंग्रेजी माध्यमको पढाइ सुरु हुनु आफैंमा सकारात्मक पहल भएपनि अब यसको वास्तविक मूल्याङ्कन विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक नतिजाबाट हुने देखिन्छ ।

अंग्रेजी माध्यममा पठनपाठन प्रभावकारी बनाउन दक्ष तथा पर्याप्त शिक्षक, आवश्यक शैक्षिक सामग्री, नियमित अनुगमन, विद्यार्थीको स्तर अनुसार शिक्षण विधि र अभिभावकको निरन्तर सहभागिता आवश्यक हुन्छ ।

त्यसैले कीर्तिचौर माध्यमिक विद्यालयमा सुरु गरिएको अंग्रेजी माध्यमको कार्यक्रम अंग्रेजी भाषामा पढाउने अभ्यासमा सीमित नराखी गुणस्तरीय र व्यवहारिक शिक्षाको आधार बनाउनेतर्फ विद्यालय, वडा नेतृत्व र समुदायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

हाल अंग्रेजी माध्यमको पठनपाठन प्रति अभिभावकमा देखिएको उत्साह र वडा नेतृत्वको सक्रियतालाई निरन्तरता दिन सके कीर्तिचौर माध्यमिक विद्यालय गाउँमै गुणस्तरीय शिक्षा खोज्ने अभिभावकका लागि भरोसा योग्य शैक्षिक केन्द्र बन्न सक्ने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया