बाजुरा ःनेपालको चर्चित चलचित्र श्रृंखला ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकाबाट सुरु हुने भएको छ। चलचित्रकी निर्देशक झरना थापाका अनुसार आगामी साउन २९ गतेदेखि बडीमालिकामा चलचित्रको शुभमुहूर्त सहित छायांकन सुरु गरिनेछ।
नेपालका ओझेलमा परेका प्राकृतिक, धार्मिक तथा पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले बडीमालिकालाई चलचित्रको छायांकनको पहिलो गन्तव्य बनाइएको निर्देशक थापाले बताएकी छन्।
निर्देशक थापाले सामाजिक सञ्जालमा र्फत बडीमालिकाको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सांस्कृतिक पहिचानलाई चलचित्रमार्फत विश्वसामु पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
उनका अनुसार हिम शृङ्खला, हरियाली, मौलिक संस्कृति, सभ्यता र गहिरो धार्मिक आस्थाको अनुपम संगम बडीमालिका नेपालको महत्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक सम्पदा हो।
“नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ‘ए मेरो हजुर ५’ को छायांकन यात्रा यहीँ साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ,” निर्देशक थापाले उल्लेख गरेकी छन्।
बडीमालिका जस्तो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थलबाट चलचित्रको यात्रा सुरु गर्न पाउनु निर्माण टिमका लागि गौरवको विषय भएको उनको भनाइ छ।
चलचित्रमा चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघि ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा दर्शकको मन जितेको यो जोडी पाँचौं श्रृंखलामा पनि पुनः एकसाथ देखिन लागेको हो।
चलचित्रको छायांकन प्रख्यात सिनेमाटो ग्राफर सञ्जय लामाले गर्नेछन्। सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले बडीमालिकाको प्राकृतिक तथा धार्मिक सौन्दर्यलाई पर्दामा प्रस्तुत गर्नेछ।
यस अघि प्रधानमन्त्री बन्नु अघि सुदूरपश्चिम भ्रमणका क्रममा बालेन शाहले बडीमालिकाको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै यसलाई “स्वीट्जरल्यान्डको पनि बाउ” भनेर चर्चा गरेका थिए। त्यसपछि बडीमालिकाप्रति आन्तरिक पर्यटकको आकर्षण थप बढेको स्थानीयस्तरमा चर्चा हुँदै आएको छ।
अब नेपाली चलचित्रको लोकप्रिय श्रृंखला ‘ए मेरो हजुर ५’ को छायांकन समेत बडीमालिकाबाट सुरु हुने भएपछि यसको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
बडीमालिकाको धार्मिक आस्था, हिमाली प्राकृतिक सौन्दर्य र नेपाली चलचित्रको लोकप्रियताको संगमले यस क्षेत्रलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय दर्शकमाझ समेत चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
चलचित्रका दृश्य मार्फत बडीमालिकाको भूगोल, संस्कृति र प्राकृतिक सौन्दर्य लाखौँ दर्शकमाझ पुग्ने भएकाले ‘ए मेरो हजुर ५’ बडीमालिकाको पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी माध्यम बन्न सक्ने देखिएको छ।





प्रतिक्रिया