गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४०
Dho

प्रदेश सभा हिउँदे अधिवेशनको पहिलो दिनमै सांसदहरुले पोखे आक्रोस

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ ०५, २०८०
प्रदेश सभा हिउँदे अधिवेशनको पहिलो दिनमै सांसदहरुले पोखे आक्रोस

बाजुरा : सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। अधिवेशनको पहिलो दिन सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र सांसदले शुभकामना दिएका छन्। अधिवेशन सुरु भए पनि सदनलाई निरन्तरता दिन ‘बिजनेस’ भने छैन। प्रदेश सभा सचिवालयले सरकारबाट अहिलेसम्म कुनै विधेयक नआएको जनाएको छ।

तेस्रो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सांसदहरूले सदनलाई बिजनेस दिन र विकास निर्माणका कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले ऐन निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाए।

सुदूरपश्चिमका भूकम्पपीडितलाई राहत र पुनर्स्थापनामा ध्यान दिन नसकेको भन्दै उनले सरकारको आलोचना गर्नुको साथै कर्मचारी सरुवाका नाममा सरकारले आतंक मच्चाएको आरोप समेत लगाए। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले विधेयक निर्माणलाई गति दिन आग्रह गरेका छन्।

उनले सदनलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने बताए। बजेट कार्यान्वयनमा देखिएका विसंगति र विकृति हटाउनेतर्फ उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन्। प्रदेशको स्थायी राजधानी गोदावरी सार्न नसकिएको र नयाँ विकल्पमा पनि जान नसकेकोले यसबारे पनि सदनले अब निकास दिनुपर्नेमा जोड दिए।

विकासका कामहरू अगाडि बढ्न नसकेको र बजेट कार्यान्वयन हुन नसकेको भन्दै उनले मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गर्न मुख्यमन्त्रीलाई आग्रह गरे। सरकारले काम गर्न नसक्दा प्रदेशप्रति वितृष्णा बढ्नुका साथै प्रदेशप्रति प्रश्न उठाउन खोज्नेलाई बल पुगेको उनले बताए। कांग्रेसका विक्रमसिंह धामीले व्यवस्थाप्रति असन्तुष्टि र आक्रोश बढेको बताए।

कर्मचारीका कारण काम अगाडि बढ्न नसकेको उनले बताए। नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले विगतमा हावाहुरीबाट केराखेतीमा क्षति हुँदा पीडित किसानलाई राहत दिन आग्रह गरेका छन्। राप्रपाका खिमादेवी विष्टले गत बर्खाका बाढीपीडितलाई राहत नदिएको भन्दै सरकारको आलोचना गरेकी छन्।

स्वतन्त्र सांसद डाक्टर तारा जोशीले सरकारले फागुनमा गर्न लागेको लगानी सम्मेलनको तयारी के छ भनेर सरकारलाई प्रश्न गरेका छन्। लगानी सम्मेलनका लागि सरकारले कुनै पूर्वाधारका योजनाको तयारी नगरेको उनले बताए। तयारीविना गरिएको लगानी सम्मेलन रमाइलो मेला मात्र बन्ने उनको तर्क छ।

प्रतिक्रिया