बाजुरा ः सम्झौता भएको चार वर्ष बितिसक्दा पनि बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकाम मार्तडीसँग जोड्ने घट्मुना क्षेत्रमा बुढीगंगा नदी माथि निर्माण हुने भनिएको पक्की पुलको काम सुरु हुन सकेको छैन्। पुल निर्माणका लागि ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माणस्थलमा कामको सुरसार नहुँदा स्थानीयबासी आक्रोशित बनेका छन्।
गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाका अनुसार पुल निर्माणका लागि २०७९ वैशाख ४ गते सम्झौता भएको थियो। तर सम्झौताको चार वर्ष पुग्न लाग्दा समेत पुलको जग खन्नेसम्मको काम अघि बढेको छैन् ।
गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकाको सीमामा पर्ने घट्मुना क्षेत्रमा पुल निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीले ठेक्का प्रक्रिया अघि बढाएको थियो।
७ करोड ४८ लाख ४३ हजार ५१६ रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का एआर चन्द ग्रुप जेभी, कञ्चनपुरले पाएको थियो। कार्यालय र निर्माण कम्पनीबीच ४ करोड १ लाख २२ हजार ४८४ रुपैयाँमा सम्झौता भएको थियो।
तर सम्झौता गरेर मात्रै काम रोकिएको छैन, निर्माण कम्पनीले ३५ लाख रुपैयाँ पेश्की समेत लिएको कार्यालयले जनाएको छ। सम्झौता अनुसार दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो।
तोकिएको समयमा काम सुरु नभएपछि कार्यालयले थप एक वर्ष म्याद बढाएर २०८२ वैशाख मसान्तसम्म पुर्याएको थियो। थपिएको म्याद समेत सकिइसक्दा पुल निर्माणको काम भने शून्य अवस्थामा छ।
कार्यालयका अनुसार ठेकेदार कम्पनी समयमै सम्पर्कमा नआएका कारण निर्माण कार्य अघि बढ्न नसकेको हो। तर स्थानीयको प्रश्न छ सम्झौता गर्ने, पेश्की रकम लिने र वर्षौंसम्म निर्माणस्थलमा नदेखिने निर्माण कम्पनी माथि कारबाही किन भएन ?
गौमुल गाउँपालिका-२ का वडाध्यक्ष देवबहादुर रोकायाले सम्बन्धित निकायले निर्माण कार्य सुरु गराउन पर्याप्त चाँसो नदिएको बताए। उनका अनुसार पुल निर्माणमा भइरहेको ढिलाइले विकासको अपेक्षा बोकेका स्थानीयलाई निराश बनाएको छ।
बाजुराको सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको केन्द्र घट्मुनासम्मको दूरी करिब १२ किलोमिटर हो। तर गाउँपालिका केन्द्र पुग्न बाटोमा दुईवटा नदी पार गर्नुपर्ने बाध्यता छ। वर्षायाममा नदीमा पानीको बहाव बढ्दा आवतजावत थप जोखिमपूर्ण बन्ने गरेको स्थानीय बताउँछन्।
मार्तडी नजिकैको ठुलीसाँघु बाहुली खोलामा पनि सडक डिभिजन कार्यालय साँफेबगरले यसअघि पुल निर्माणका लागि ठेक्का आह्वान गरे पनि काम अघि बढ्न सकेको छैन्। अर्थात्, गौमुललाई सदरमुकामसँग सहज सडक सञ्जालमा जोड्ने मुख्य संरचना नै वर्षौंदेखि अलपत्र छन्।
घट्मुना पुल निर्माण सम्पन्न भए गौमुलका बासिन्दालाई मात्र होइन, बाजुराबाट बझाङसम्म जोडिने छोटो सडक मार्ग सञ्चालनमा समेत महत्वपूर्ण सहजता हुने अपेक्षा गरिएको छ।
मार्तडीदेखि गौमुलसम्मको करिब १२ किलोमिटर सडकखण्ड मध्ये ६ किलोमिटर कालोपत्रे गर्ने काम सुरु भएपनि सडक निर्माण समेत अहिले अलपत्र अवस्थामा रहेको स्थानीयको गुनासो रहेकाे छ। प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय, साँफेबगर मार्फत भइरहेको सडक निर्माणले समेत अपेक्षित गति लिन सकेको छैन् ।
स्थानीय बलबहादुर रोकायाका अनुसार १२ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुनुका साथै बाहुली खोला र बुढीगंगा नदीमा पक्की पुल बने गौमुल गाउँपालिका वर्षभरि नै सदरमुकाम मार्तडीसँग सहज सडक सञ्जालमा जोडिन सक्थ्यो। तर सडक अधुरो, पुल अधुरो र विकासको सपना पनि अधुरै रहेको स्थानीयको गुनासो छ।
घट्मुना पुलको अवस्था एउटा आयोजनाको ढिलाइ मात्र होइन, सार्वजनिक निर्माणमा देखिएको जवाफदेहिताको गम्भीर प्रश्न समेत बनेको छ। करोडौँ रुपैयाँको आयोजना ठेक्का लगाउने, सम्झौता गर्ने, ३५ लाख रुपैयाँ पेश्की दिने तर चार वर्षसम्म निर्माण सुरु नहुने अवस्था आउँदा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ।
ठेक्का सम्झौता उल्लंघन गर्ने निर्माण कम्पनी माथि सम्झौता अनुसार कारबाही, क्षतिपूर्ति असुली वा ठेक्का रद्द गर्ने प्रक्रिया किन अघि बढेन ? पटक-पटक म्याद थप्दा पनि काम नगर्ने ठेकेदारलाई राज्यका सम्बन्धित निकायले किन जवाफदेही बनाउन सकेनन् ? स्थानीयबासीले अहिले यी प्रश्नको स्पष्ट जवाफ खोजिरहेका छन्।
विकासको नाममा बजेट छुट्याएर ठेक्का लगाउनु मात्रै विकास होइन। सम्झौता गरेर वर्षौंसम्म काम नगर्ने प्रवृत्ति माथि राज्यले कठोर कदम नचालेसम्म यस्ता आयोजना कागजमै सीमित हुनेछन्।
घट्मुना पुलको चार वर्षे ढिलाइले बाजुरामा विकास आयोजना कार्यान्वयनको कमजोर अवस्था मात्र देखाएको छैन, ठेकेदारको लापरबाही र नियमनकारी निकायको मौनताबीच स्थानीय नागरिकले विकासको मूल्य कसरी चुकाइरहेका छन् भन्ने प्रश्न समेत गम्भीर रुपमा उठाएको छ। समाचार बडीमालिका खबरबाट साभार गरेर केही परिमार्जन गरिएको हो ।





प्रतिक्रिया