बाजुरा ःप्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका क्षेत्रमा आगामी धार्मिक मेला अघि नै सञ्चार सेवा थप प्रभावकारी बनाउने तयारी थालिएको छ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको पहलमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, अत्तरियामा बडीमालिका क्षेत्रको दूरसञ्चार तथा डिजिटल पहुँच विस्तारका विषयमा महत्वपूर्ण छलफल भएको हो।
छलफलमा बडीमालिका क्षेत्रमा नयाँ टेलिकम टावर स्थापना, विद्यमान टावरहरूको विद्युतीकरण, फाइबर नेट विस्तार तथा दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्ने विषयमा विशेष जोड दिइएको नगर प्रमुख खड्काले बताएका छन्।
विशेषगरी आगामी बडीमालिका धार्मिक मेला अघि आवश्यक स्थानमा नयाँ टावर स्थापना गरी तीर्थयात्री, पर्यटक तथा स्थानीय नागरिकलाई प्रभावकारी सञ्चार सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ अघि बढाउने बारे छलफल भएको जनाइएको छ।
बडीमालिका क्षेत्रमा हरेक वर्ष धार्मिक मेला तथा दर्शनका लागि देशका विभिन्न स्थानबाट ठूलो संख्यामा तीर्थयात्री पुग्ने गरेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण सञ्चार सेवामा देखिने समस्या समाधान गर्न टावर विस्तार तथा विद्युतीकरणले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सञ्चार सेवा विस्तारसँगै बडीमालिका पुग्ने तीर्थयात्री तथा पर्यटकले सहज रूपमा फोन, इन्टरनेट तथा डिजिटल सेवाको प्रयोग गर्न पाउने वातावरण बन्ने विश्वास गरिएको छ।
दुर्गम क्षेत्रका नागरिक, तीर्थयात्री तथा पर्यटकलाई सहज, भरपर्दो र गुणस्तरीय सञ्चार सेवामा पहुँच पुर्याउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिइने नगर प्रमुख खड्काले बताएका छन्।बडीमालिका जाने यात्रुका लागि यो पहलले धार्मिक यात्रालाई अझ सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया