बाजुरा ःबाजुराका चार स्थानीय तहका ६७ जना युवा किसानलाई दिगो तथा जलवायुमैत्री कृषि प्रणाली अपनाउन प्रेरित गर्ने उद्देश्यले पाँचदिने एकीकृत कीट व्यवस्थापन (आईपीएम) तालिम सम्पन्न भएको छ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्वारा सञ्चालित Girls Get Equal 2.0 (किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि) : आभा परियोजना अन्तर्गत तालिम सञ्चालन गरिएको हो।
जीवनोपयोगी सीप, व्यावसायिक सीप तथा व्यावसायिक तालिम प्राप्त गरेका १८ देखि २४ वर्ष उमेर समूहका युवा किसान तालिममा सहभागी भएका थिए।
परियोजना संयोजक पदम कठायतका अनुसार बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकामा साउन ८ देखि १२ गतेसम्म तथा गौमुल गाउँपालिकामा साउन ९ देखि १३ गतेसम्म तालिम सञ्चालन गरिएको थियो। सम्बन्धित स्थानीय तहका कृषि विकास शाखासँगको समन्वयमा सञ्चालन गरिएको तालिममा कृषि अधिकृत तथा कृषि प्राविधिकहरूले सहजीकरण गरेका थिए।
तालिममा बालीमा लाग्ने रोग तथा कीराको पहिचान, फाइदाजनक र हानिकारक किराको व्यवस्थापन, तरकारी खेतीका आधुनिक प्रविधि, प्राङ्गारिक खेती, मिश्रित बाली प्रणाली, तरकारी नर्सरी व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइएको थियो। यस्तै, झोल मल, भर्मी कम्पोस्ट तथा इफेक्टिभ माइक्रोअर्गानिज्म (ईएम) घोल तयार गर्ने र प्रयोग गर्ने विधिबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिम अवधिमा सहभागीलाई अवलोकन भ्रमण तथा व्यवहारिक अभ्याससमेत गराइएको थियो। यसबाट युवाहरूले स्थानीय स्रोत-साधनको प्रयोग मार्फत कृषि उत्पादन बढाउने, रोग तथा कीरा व्यवस्थापन गर्ने र वातावरणमैत्री कृषि प्रविधि अपनाउने विषयमा व्यावहारिक ज्ञान हासिल गरेका छन्।
पीसविन नेपालका अनुसार तालिमपछि सहभागी युवाहरूको दिगो कृषि अभ्यास, जैविक मल तथा जैविक विषादीको प्रयोग, रोग तथा कीरा व्यवस्थापन र कृषि उत्पादन वृद्धि सम्बन्धी ज्ञान तथा सीपमा सुधार आएको छ। सहभागीहरूले स्थानीय कृषि क्षेत्रमा देखिएका समस्या तथा तिनका समाधानका उपायबारे अनुभव आदानप्रदान गर्दै समुदायमा प्रयोग गर्न सकिने व्यवहारिक उपायसमेत पहिचान गरेका थिए।
बडीमालिका नगरपालिका-८ की सहभागी जमुना रोकायाले तालिमबाट स्थानीय स्रोत-साधनको प्रभावकारी उपयोगबारे नयाँ ज्ञान प्राप्त भएको बताइन्। “पहिले खेर जाने स्थानीय सामग्रीबाट पनि जैविक मल र विषादी बनाउन सकिने रहेछ भन्ने कुरा सिक्यौँ। व्यवहारिक अभ्यासले आफ्नै खेतमा यी प्रविधि प्रयोग गर्ने आत्मविश्वास बढाएको छ,” उनले भनिन्।
आयोजकका अनुसार तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै युवाहरूले रासायनिक विषादीमा निर्भरता घटाउने, सुरक्षित तथा वातावरणमैत्री कृषि अभ्यास अपनाउने र तरकारी उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ। यसले युवाहरूको दिगो जीविकोपार्जन तथा स्थानीय कृषि प्रणालीलाई थप सुदृढ बनाउनसमेत योगदान पुग्ने विश्वास गरिएको छ।





प्रतिक्रिया