गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०४:०४

बडीमालिका-९ सेलाघाटमा पहिरो : १६ घरधुरी जोखिममा, तीन परिवार विस्थापित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन ०८, २०८३
बडीमालिका-९ सेलाघाटमा पहिरो : १६ घरधुरी जोखिममा, तीन परिवार विस्थापित

बाजुरा ःअविरल वर्षापछि आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका-९ सेलागाडमा १६ घरधुरी जोखिममा परेका छन्। तीमध्ये तीन घरधुरी उच्च जोखिममा परेपछि त्यहाँ बसोबास गर्न नमिल्ने अवस्था सिर्जना भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश शाहीका अनुसार शुक्रबार बिहाना करिब ४ः३५ बजे घर माथिबाट पहिरो खस्दा १६ घरधुरीमा पानी पसेको थियो।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाजुरा र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुराबाट खटिएको संयुक्त टोलीले स्थानीयको उद्धार गर्दै घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेको हो।

प्रहरीका अनुसार उच्च जोखिममा रहेका तीन घरधुरीका २२ जना सदस्यलाई तत्काल त्यहाँ बसोबास गर्न नमिल्ने भएकाले सुरक्षित स्थानमा सारिएको छ। बाँकी १३ घरधुरीका ८३ जना सदस्य पनि जोखिममा रहेका छन्।

पहिरोका क्रममा स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।

पहिरोका कारण बडीमालिका-८ राप्कास्थित टोट्के सिँचाइ आयोजनामा समेत क्षति पुगेको छ। आयोजना अन्तर्गत रहेको २०० एमएम क्षमताको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर बगाएर क्षति पुगेको प्रहरीको भनाइ छ।

घटनास्थितिको निगरानी, जोखिम मूल्यांकन तथा आवश्यक सुरक्षा व्यवस्थापनका लागि सुरक्षा निकायको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया