बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा नेपाल प्रहरीको कार्यसम्पादन मूल्यांकनमा देशभरका प्रहरी अधिकृतमध्ये उत्कृष्ट स्थान हासिल गर्न सफल हुनुभएको छ।
बाजुराजस्तो भौगोलिक रूपमा दुर्गम, चुनौतीपूर्ण तथा संवेदनशील जिल्लामा नेतृत्व सम्हाल्दै उहाँले देखाएको व्यावसायिक दक्षता, परिणाममुखी कार्यशैली र जनउत्तरदायी प्रहरी सेवाको उच्च मूल्यांकन भएको हो।
डीएसपी बोहराको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाजुराले शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ, लागूऔषध तथा अवैध गतिविधि नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण, बालविवाह रोकथाम, अवैध मदिरा नियन्त्रण र गाँजा फडानी अभियानलाई प्राथमिकताका साथ अघि बढाएको छ।
समुदायसँगको सहकार्यलाई सुदृढ बनाउँदै जनविश्वास बढाउने अभियानमा समेत उल्लेखनीय उपलब्धि हासिल भएको प्रहरी स्रोतको भनाइ छ। बाजुरामा हुने विभिन्न सामाजिक, प्रशासनिक तथा सुरक्षा चुनौतीलाई कानुनी प्रक्रिया र संवादमार्फत समाधान गर्ने शैलीले पनि डीएसपी बोहराले फरक पहिचान बनाउनुभएको छ।
हिमाली गाउँपालिका-३ को लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद तथा झडपको घटनामा उहाँ स्वयं घटनास्थल पुगेर अनुसन्धान, सुरक्षा व्यवस्थापन र समन्वयको नेतृत्व गर्नुभएको थियो। उहाँको सक्रिय उपस्थितिले परिस्थितिलाई थप जटिल बन्न नदिई अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
व्यावसायिक अनुशासन, निष्पक्ष निर्णय क्षमता, नागरिकमैत्री व्यवहार र जिम्मेवारीप्रतिको उच्च प्रतिबद्धताका कारण डीएसपी बोहरा बाजुरामा मात्र होइन, नेपाल प्रहरीभित्र पनि एक सक्षम र उदाहरणीय नेतृत्वका रूपमा स्थापित हुँदै जानुभएको छ।
उहाँको कार्यशैलीले प्रहरी संगठनप्रतिको नागरिक विश्वास अझ बलियो बनाउन योगदान पुर्याएको सरोकारवालाहरूको भनाइ छ। देशभरको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट प्रहरी अधिकृतका रूपमा प्राप्त यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई जिल्ला प्रहरी कार्यालय बाजुराको समग्र संस्थागत प्रभावकारिता र टोलीको समर्पित मेहनतको समेत सम्मानका रूपमा हेरिएको छ।





प्रतिक्रिया