गाैमुल खबर डटकम आइतबार ३१, साउन २०८३ ०७:५१

लाम्पाटा घटनामा अदालतको आदेश : १० जना पुर्पक्षका लागि थुनामा, ८ जनालाई दुई-दुई लाख धरौटी, ३ जना तारेखमा रिहा

सीमा विवाद चर्किएपछि भएको हिंसात्मक घटनामा अदालतको आदेश, एक अभियुक्त अझै फरार, सरकारका दुई छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुन बाँकी
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार ३०, २०८३
लाम्पाटा घटनामा अदालतको आदेश : १० जना पुर्पक्षका लागि थुनामा, ८ जनालाई दुई-दुई लाख धरौटी, ३ जना तारेखमा रिहा

बाजुरा ः बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटामा जेठ ३ गते भएको हिंसात्मक घटनामा पक्राउ परेका २१ जना प्रतिवादीमध्ये १० जनालाई जिल्ला अदालत बाजुराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सोमबार रातिसम्म चलेको सुनुवाइपछि अदालतले ८ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न तथा ३ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले शरीर बन्धक बनाएको कसुरमा २१ जना विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो ।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । थुनामा पठाइएका प्रतिवादीहरू देवराज रावल, चन्द्रबहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शंकर रावल, रामदत्त रावल, कैलाश छत्याल, बुद्धि रावल र जयबहादुर रावल रहेका छन् ।

त्यस्तै, अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ अनुसार प्रतिवादीहरुको आर्थिक अवस्था विचार गर्दै दफा ६८ बमोजिम मानबहादुर जेठारा, शेर रावल, वीर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजंग जेठारा र ज्ञानेन्द्र छत्याल लाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

यस्तै, बिर्खबहादुर रावल, परेलाल रावल र शान्त रावल लाई दफा ६९ बमोजिम साधारण तारेखमा छाड्ने आदेश भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घटनाका एक जना अभियुक्त अझै फरार छन् भने अर्का एक जनाको ठेगाना खुल्न बाँकी रहेको छ ।

के थियो लाम्पाटा घटना ?

गत जेठ ३ गते हुम्लाबाट आएको एक समूह बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटा पुगेको थियो । त्यहाँ अस्थायी प्रहरी चौकी स्थापना गर्न निर्माणाधीन भवनको विरोध गर्दै स्थानीय जनप्रतिनिधि तथा बासिन्दा माथि कुटपिट, दुव्र्यवहार र शरीर बन्धक बनाएको आरोप उनीहरु माथि लागेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरी प्रहरी चौकी भवन निर्माण सुरु गरेपछि त्यसको विरोधमा हुम्लाका केही स्थानीय लाम्पाटा पुगेका थिए । सो क्रममा प्रहरी चौकी निर्माण रोक्ने प्रयाससँगै स्थानीय माथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

घटनामा हिमाली गाउँपालिका-३ का वडा सदस्य पेमा गोरा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, नरबहादुर गुरुङ, प्रहरी सहायक हवल्दार महेश धामी तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएका थिए ।

गम्भीर घाइते पेमा गोरा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकोप्टर मार्फत काठमाडौं लगेर उपचार गरिएको थियो । उपचारपछि उनीहरु घर फर्किसकेका छन् ।

घटनाको दुई दिनपछि, जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पुगेको टोली माथि पनि कुटपिट र  दुर्व्यवहार भएको थियो । उक्त टोलीमा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल सहितको टोली रहेको प्रहरीले जनाएको छ ।

सुरक्षा व्यवस्था कडा, छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन

घटनापछि सरकारले लाम्पाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । हाल सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना तथा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिठ्ठुबहादुर बोहरा को नेतृत्वमा ७ जना प्रहरी परिचालन गरिएको छ ।

घटना लगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले स्थलगत अध्ययन सम्पन्न गरे पनि प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन् ।

यसैगरी, जेठ १० गते सरकारले बाजुरा-हुम्ला सीमा विवाद र प्राविधिक पक्षको अध्ययन गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कानुन मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय तथा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सहभागी उक्त समितिले पनि स्थलगत अध्ययन पूरा गरिसकेको भए पनि प्रतिवेदन अझै सरकारलाई सार्वजनिक गरिएको छैन् । 
 

प्रतिक्रिया