बाजुरा ः बडीमालिका नगरपालिकाले नगरभित्र रहेका ४४ जना मुक्त हलियालाई परिचयपत्र वितरण गरेको छ। मुक्त हलियाको पहिचान स्थापित गर्दै सामाजिक सुरक्षा तथा राज्यबाट उपलब्ध हुने सेवा-सुविधामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले वडा नं. १, ७ र ९ का लाभग्राहीलाई परिचयपत्र वितरण गरिएको हो।
नगरपालिकाका कर्मचारी कृष्ण खड्काका अनुसार परिचयपत्र प्राप्त गर्नेहरूमध्ये ‘क’ वर्गका २ जना र ‘ख’ वर्गका ४२ जना रहेका छन्। वडा नं. १ का २२ जना, वडा नं. ७ का ७ जना र वडा नं. ९ का १५ जना मुक्त हलियाले परिचयपत्र प्राप्त गरेका छन्। वर्गीकरणअनुसार वडा नं. १ र वडा नं. ७ मा एक-एक जना ‘क’ वर्गका मुक्त हलिया रहेका छन्।
नगरपालिकाले परिचयपत्र वितरणसँगै मुक्त हलियाको कानुनी पहिचान स्थापित हुनुका साथै राज्यबाट उपलब्ध हुने विभिन्न सेवा, सुविधा र अधिकारमा पहुँच विस्तार गर्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
यो कार्यक्रम ‘स्थानीयदेखि विश्वव्यापी मानवअधिकार पैरवी मार्फत नेपालका सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरण (L2G Project)’ अन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रम बडीमालिका नगरपालिका, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल तथा जिल्ला हलिया मुक्ति समाज बाजुराको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा LWF को सहयोग तथा सहकार्य रहेको थियो।
नगरपालिकाले मुक्त हलियाको जीवनस्तर सुधार, सामाजिक न्यायको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनका लागि पहिचान स्थापना पहिलो आधार भएको उल्लेख गर्दै आगामी दिनमा उनीहरूको आर्थिक सशक्तीकरण, सीप विकास र सामाजिक उत्थानसँग सम्बन्धित कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाएको छ।
परिचयपत्र प्राप्त गरेका मुक्त हलियाहरूले वर्षौंदेखिको संघर्षपछि प्राप्त भएको यो परिचयपत्रले आफ्नो पहिचान स्थापित गर्नुका साथै सरकारी सेवा, सुविधा र अवसर प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।
परिचयपत्र वितरणसँगै मुक्त हलियाको अधिकार संरक्षण, सामाजिक समावेशीकरण तथा राज्यसँगको पहुँचलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया