गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२८

बाजुराको अर्थतन्त्रमा नयाँ गति : सात वर्षमा १,३२९ नयाँ व्यवसाय दर्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार २३, २०८३
बाजुराको अर्थतन्त्रमा नयाँ गति : सात वर्षमा १,३२९ नयाँ व्यवसाय दर्ता

बाजुरा ःबाजुरा जिल्लाको अर्थतन्त्र विस्तार हुँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सम्पन्न राष्ट्रिय आर्थिक गणना २०८२ अनुसार जिल्लाभर सञ्चालनमा रहेका दर्ता भएका आर्थिक एकाइको संख्या उल्लेखनीय रूपमा बढेको छ।

सात वर्षअघि २०७५ मा ३ हजार ८ सय ९१ रहेको आर्थिक एकाइको संख्या अहिले ५ हजार २ सय २० पुगेको छ। अर्थात् सात वर्षको अवधिमा १ हजार ३ सय २९ नयाँ आर्थिक एकाइ थपिएका छन्, जुन करिब ३४ प्रतिशत वृद्धि हो।

‎आर्थिक गणनाले जिल्लामा साना तथा ठूला उद्योग, व्यापारिक प्रतिष्ठान, निर्माण कम्पनी, होटल तथा रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्था, सहकारी, यातायात सेवा प्रदायक, कृषि व्यवसाय, उपभोक्ता समिति, शैक्षिक तथा स्वास्थ्य संस्था लगायतका दर्ता भएका आर्थिक एकाइहरूको विवरण समेटेको छ।

‎तथ्यांकले बाजुरामा व्यापार, सेवा, कृषि र उद्यमशीलताप्रति नागरिकको आकर्षण बढ्दै गएको स्पष्ट संकेत गरेको छ। यसले स्थानीय अर्थतन्त्र विस्तार हुनुका साथै रोजगारी सिर्जना र लगानीको वातावरण पनि क्रमशः सुदृढ बन्दै गएको देखाउँछ।

‎स्थानीय तहगत विवरण हेर्दा बडीमालिका नगरपालिका जिल्लाकै सबैभन्दा बढी आर्थिक गतिविधि हुने स्थानीय तह बनेको छ। २०७५ मा यहाँ ८३६ आर्थिक एकाइ रहेकामा २०८२ मा बढेर १ हजार ११ पुगेका छन्।

जिल्ला सदरमुकाम रहेको र सरकारी तथा निजी सेवा केन्द्रहरूको बढी उपस्थितिका कारण यहाँ आर्थिक गतिविधि उच्च रहेको देखिन्छ।

‎बुढीगंगा नगरपालिका दोस्रो स्थानमा छ। यहाँ आर्थिक एकाइको संख्या ५३० बाट बढेर ७६५ पुगेको छ। त्यस्तै बुढीनन्दा नगरपालिकामा ५९५ बाट ७५६ पुगेको छ।

‎‎सबैभन्दा उल्लेखनीय वृद्धि भने त्रिवेणी नगरपालिकामा देखिएको छ। यहाँ २०७५ मा ३७५ आर्थिक एकाइ रहेकामा २०८२ मा ६०६ पुगेका छन्। अर्थात् सात वर्षमा २३१ नयाँ आर्थिक एकाइ थपिएका छन्, जुन झण्डै ६२ प्रतिशत वृद्धि हो। यो जिल्लाकै उच्च वृद्धिदरमध्ये एक हो।

‎गाउँपालिकाहरूमध्ये खप्तड छेडेदह गाउँपालिकामा आर्थिक एकाइ ४९७ बाट ५९१, हिमाली गाउँपालिकामा ३३८ बाट ४५०, जगन्नाथ गाउँपालिकामा २७७ बाट ४०८, गौमुल गाउँपालिकामा २६३ बाट ३४५ तथा स्वामीकार्तिक खापर गाउँपालिकामा १८० बाट २८८ पुगेका छन्।

‎तथ्यांकले जिल्लाका नौवटै स्थानीय तहमा आर्थिक गतिविधि निरन्तर बढेको देखाएको छ। कुनै पनि स्थानीय तहमा आर्थिक एकाइ घटेको छैन। यसले ग्रामीण क्षेत्रसम्म व्यापार, सेवा, कृषि उद्यम, निर्माण व्यवसाय तथा अन्य आर्थिक गतिविधि विस्तार भइरहेको संकेत गर्छ।

‎विज्ञहरूका अनुसार आर्थिक एकाइको वृद्धिले स्थानीय बजारको विस्तार, स्वरोजगारका अवसरको वृद्धि, निजी क्षेत्रको लगानीमा भएको विस्तार तथा स्थानीय सरकारहरूले अपनाएका उद्यम प्रवर्द्धन कार्यक्रमको सकारात्मक प्रभावलाई पनि प्रतिबिम्बित गर्छ।

सडक पहुँच, बैंकिङ सेवा विस्तार, कृषि व्यवसायीकरण तथा स्थानीय उत्पादनको बजारीकरणले पनि आर्थिक गतिविधि बढाउन सहयोग पुगेको विश्लेषण गरिएको छ।

‎राष्ट्रिय आर्थिक गणना २०८२ को यो तथ्यांकले बाजुरा अब परम्परागत कृषि अर्थतन्त्रमा मात्र सीमित नरही व्यापार, सेवा, पर्यटन, कृषि उद्यम र साना उद्योगतर्फ विस्तार हुँदै गएको देखाएको छ।

जिल्लामा आर्थिक गतिविधिको यो बढ्दो गति कायम राख्न स्थानीय सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायले लगानीमैत्री वातावरण, पूर्वाधार विकास र उद्यमशीलतालाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

प्रतिक्रिया