बाजुरा ःनेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीले सञ्चालन गरेको 'मिसन पार्टी जागरण विशेष अभियान' अन्तर्गत बाजुरामा जनसंगठनका पदाधिकारी, पालिका कमिटीका पदाधिकारी तथा वडा इन्चार्जहरुका लागि एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
आज (असार २१ गते) मार्तडीमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटीका उपलब्ध सदस्यहरुको समेत सहभागिता रहेको थियो। अनौपचारिक रुपमा सञ्चालन गरिएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज लालबहादुर थापा र जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओलीले अभियानको उद्देश्य, संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा आगामी निर्वाचन केन्द्रित रणनीतिका विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरुले पार्टीलाई अझ सुदृढ, जनमुखी र प्रभावकारी बनाउन विभिन्न रचनात्मक सुझाव प्रस्तुत गरेका थिए। उनीहरुले पार्टी नेताहरूको कार्यशैलीमा सुधार आवश्यक रहेको, बाजुराको भौगोलिक तथा प्राविधिक अवस्थालाई मध्यनजर गर्दै सदस्यता नवीकरण अनलाइन प्रणाली व्यवहारिक नभएको, सदस्यता नवीकरण लगायतका विषयमा प्रत्येक सदस्यलाई डिजिटल सूचना प्रणाली मार्फत जानकारी गराउनुपर्ने धारणा राखेका थिए।
त्यसैगरी, परम्परागत बैठक र भेला भन्दा आवश्यकता अनुसार डिजिटल माध्यमबाट सूचना प्रवाह गर्नुपर्ने, गाउँमा युवाको संख्या न्यून हुँदै गएकाले शहर तथा विदेशमा रहेका युवालाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, जनसंगठनहरुको पुनर्जागरणमा विशेष ध्यान दिनुपर्ने सुझाव पनि सहभागीहरुले दिएका थिए।
सहभागीहरुले जनप्रतिनिधिहरुको व्यवहार पार्टी नीति र जनअपेक्षा अनुसार हुन नसक्दा आमजनतामा पार्टीप्रतिको विश्वास कमजोर बनेको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याएका थिए।
साथै, पछिल्लो निर्वाचनको पराजयलाई लिएर एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्तिले पार्टीभित्र अनावश्यक आन्तरिक द्वन्द्व सिर्जना गरिरहेको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापनका क्रममा जिल्ला अध्यक्ष लालबहादुर ओलीले सहभागीहरुले दिएका सम्पूर्ण सुझाव माथिल्ला कमिटी तथा पार्टी नेतृत्व समक्ष पुर्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले पार्टीको एपमा प्रत्येक सदस्यको व्यक्तिगत विवरण अद्यावधिक गरिने, सदस्यता नवीकरण भने पहिलेकै अभ्यास अनुसार पालिका कमिटी मार्फत गराइने तर अर्को व्यक्तिको नाममा कसैले पनि नवीकरण गर्न नपाउने व्यवस्था कायम रहने जानकारी दिनुभयो।
जिल्ला अध्यक्ष ओलीले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी जिल्ला पार्टी प्रमुखका हैसियतले आफूले नै लिने स्पष्ट गर्दै अब कसैमाथि आरोप-प्रत्यारोप नगर्न आग्रह गर्नुभयो।
उहाँले पार्टीलाई बलियो, अनुशासित र जनविश्वासयुक्त बनाउन सबै नेता-कार्यकर्ता आफ्नो जिम्मेवारीमा इमानदारीपूर्वक जुट्नुपर्नेमा जोड दिँदै सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
पार्टीका अनुसार 'मिसन पार्टी जागरण विशेष अभियान' का लागि केन्द्रीय कमिटी सदस्यहरुलाई पालिकागत जिम्मेवारी तोकिएको छ।
२०८३ जेठ ७ गते धनगढीमा सम्पन्न प्रदेश स्तरीय अनुशिक्षणपछि सुदूरपश्चिम प्रदेश मा अभियान औपचारिक रुपमा सुरु भएको हो। यो अभियान २०८४ सालमा हुने स्थानीय तह तथा प्रदेश सभा निर्वाचन सम्पन्न नहुँदासम्म निरन्तर सञ्चालन हुनेछ।
अभियान अरन्तर्गत केन्द्रीय कमिटीबाट जिम्मेवारी प्राप्त सदस्यहरुको सहजीकरणमा पार्टी सदस्यता नवीकरण, सदस्यता विस्तार, आवश्यकताअनुसार वडा तथा पालिका कमिटी र जनसंगठनहरूको गठन तथा पुनर्गठनलाई तीव्रता दिइने पार्टीले जनाएको छ।
पार्टी नेतृत्वले अभियानलाई संगठन सुदृढीकरण, कार्यकर्ताको मनोबल अभिवृद्धि, जनविश्वास पुनः स्थापित गर्ने तथा आगामी निर्वाचनमा उत्साहजनक परिणाम हासिल गर्ने दीर्घकालीन रणनीतिक अभियानका रुपमा अघि बढाइएको जनाएको छ।





प्रतिक्रिया