गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०४:०३

जनसहभागिता सहित बडीमालिका-७ मा वडा स्तरीय समीक्षा सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १६, २०८३
जनसहभागिता सहित बडीमालिका-७ मा वडा स्तरीय समीक्षा सम्पन्न

बाजुरा ः बडीमालिका नगरपालिका-७ ले आर्थिक वर्ष ०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा बजेट कार्यान्वयनको समीक्षा गर्दै आगामी योजनालाई थप प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

वडा कार्यालय परिसरमा आयोजित वडा स्तरीय समीक्षा कार्यक्रममा आर्थिक वर्षभरि वडा कार्यालयमार्फत सञ्चालन भएका विकास निर्माणका कार्य, सामाजिक तथा पूर्वाधार विकास, सेवा प्रवाह, बजेट कार्यान्वयन, उपलब्धि, चुनौती तथा आगामी वर्षका प्राथमिकताबारे विस्तृत समीक्षा गरिएको वडा सचिव सरिता ठकुल्लाले जानकारी दिइन्।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य आधारभूत सेवामा भएका प्रगतिप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै केही क्षेत्रमा अझ सुधार आवश्यक रहेको औँल्याए। उनीहरूले विकास योजनाको प्रभावकारी कार्यान्वयन, बजेटको न्यायोचित वितरण, गुणस्तरीय सेवा प्रवाह तथा जनसहभागिता थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष धर्मराज पाध्यायले सीमित स्रोत र साधनका बाबजुद नागरिकका आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर विकास निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए।

समीक्षा कार्यक्रमबाट प्राप्त सुझावलाई आगामी योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यबाट मात्रै दिगो र समावेशी विकास सम्भव हुने उल्लेख गरे।

उनले भने, “समीक्षा कार्यक्रम विगतका कामको मूल्याङ्कन गर्ने माध्यम मात्र होइन, आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र जनमुखी सेवा प्रवाहका लागि साझा मार्गनिर्देशन गर्ने महत्वपूर्ण अवसर पनि हो।”

कार्यक्रमका सहजीकर्ता तथा नेपाल पत्रकार महासंघ बाजुराका पूर्वअध्यक्ष मदन जोशीले समीक्षा कार्यक्रमले स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वलाई थप सुदृढ बनाउने बताए। उनले नागरिकबाट आएका सुझावलाई योजनामा रूपान्तरण गर्न सके मात्रै यस्ता कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुने धारणा व्यक्त गरे।

कार्यक्रममा आर्थिक वर्षभरि सम्पन्न भएका योजना, बजेट खर्च, उपलब्धि, चुनौती तथा आगामी वर्षका प्राथमिकताबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो। सहभागीहरूले दिएका रचनात्मक सुझावलाई आगामी योजना तर्जुमा प्रक्रियामा समेट्ने प्रतिबद्धता वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ बाजुराका पूर्वअध्यक्ष मदन जोशीले गरेका थिए भने सञ्चालन वडा सचिव सरिता ठकुल्लाले गरेकी थिइन्।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, टोल विकास संस्थाका पदाधिकारी, महिला समूह, युवा, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया