बाजुरा ः गौमुल गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा महिला हिंसा न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाभरिका ६ वटै वडाका महिला अधिकार मञ्चका प्रतिनिधि तथा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा महिला हिंसा न्यूनीकरण, कानुनी अधिकार, लैङ्गिक समानता, आत्मविश्वास अभिवृद्धि तथा समुदायमा महिलाको नेतृत्व विकासका विषयमा छलफल गरिएको थियो ।
महिला तथा बालबालिका शाखा प्रमुख सिर्जना विष्टका अनुसार महिलालाई आफ्नो अधिकारप्रति सचेत बनाउँदै हिंसा विरुद्ध खुलेर आवाज उठाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
यस्ता अभिमुखीकरणले महिला सशक्तीकरणसँगै सुरक्षित र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले महिला हिंसा न्यूनीकरण केवल कानुनी विषय मात्र नभई सामाजिक जिम्मेवारी भएको बताएकी छन् ।
उनले महिलाहरू आर्थिक, सामाजिक र शैक्षिक रुपमा सक्षम भए मात्रै हिंसामुक्त र समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्दै सबै महिलालाई आफ्नो अधिकारबारे सचेत रहन आग्रह गरिन् ।
“महिला हिंसा अन्त्य गर्न कानुन मात्र पर्याप्त हुँदैन, समाजको सोच पनि बदलिनुपर्छ । महिलाले आफ्नो अधिकार चिन्नु, अन्याय विरुद्ध नडराई बोल्नु र आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको उल्लेख गरेकी छन् ।गौमुल गाउँपालिका महिलाको क्षमता विकास, अधिकार संरक्षण र सशक्तीकरणका लागि निरन्तर प्रतिबद्ध रहेको उनको भनाई रहेको छ ।
कार्यक्रममा सहभागी महिलाहरुले यस्ता अभिमुखीकरण कार्यक्रमले आफूहरुलाई हिंसा, विभेद र अधिकारका विषयमा थप जानकारी प्राप्त भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई वडा तहसम्म निरन्तर सञ्चालन गर्न आग्रह गरेका थिए ।
गौमुल गाउँपालिकाले महिला सशक्तीकरण, लैङ्गिक समानता तथा हिंसामुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने भएको छ ।





प्रतिक्रिया