बाजुरा ः डिजिटल प्रविधिको पहुँचलाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले बडीमालिका नगरपालिकाले सञ्चालन गरेको ‘गाउँले गुरु (डिजिटल अभियान)’ र ‘एक टोल, एक अभियान्ता’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
अभियान अन्तर्गत ३७ जना डिजिटल अभियान्तालाई समुदायमा परिचालन गरी नागरिक र १० वटा गाउँले डिजिटल गुरु मार्फत विद्यार्थीलाई सिकाइ चौतारीको प्रयोग र पछिल्लो डिजिटल प्रविधिको प्रयोगद्धारा आफ्नो शैक्षिक गुणस्तर सुधार, डिजिटल सीप, सुरक्षित इन्टरनेट प्रयोग तथा सरकारी डिजिटल सेवाको प्रयोगबारे प्रशिक्षण दिइएको छ ।
नगरपालिकाले स्थानीय स्तरमै डिजिटल सीप भएका अभियान्ता मार्फत टोल-टोलमा पुगेर नागरिकलाई स्मार्टफोन तथा इन्टरनेटको आधारभूत प्रयोग, डिजिटल सेवामा पहुँच, सुरक्षित डिजिटल व्यवहार र प्रविधिको प्रभावकारी उपयोगबारे जानकारी तथा अभ्यास गराउँदै आएको कार्यक्रमका फोकल पर्सन कृष्णबहादुर खड्काले बताएका छन् ।
स्थानीय मेन्टर मार्फत समुदायमै पुगेर डिजिटल साक्षरता विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानमा परिचालित २७ जना डिजिटल अभियान्ताले नागरिकलाई ERC, नागरिक गुनासो व्यवस्थापन प्रणाली, प्रहरी एप, नागरिक एप, ई-सेवा लगायतका डिजिटल सेवाको प्रयोगात्मक अभ्यास गराएका छन् ।
साथै सामाजिक सञ्जालको सुरक्षित प्रयोग, डिजिटल ठगीबाट बच्ने उपाय, OTP, PIN र पासवर्ड सुरक्षाबारे समेत सचेतना प्रदान गरिएको छ । यससँगै ChatGpt, Gemini, NtebookLM जस्ता कृत्रिम बुद्धिमत्ता AI उपकरणको परिचय, प्रभावकारी Prompt तयार गर्ने तरिका, सिकाइ चौतारी, ई-लाइब्रेरी तथा अन्य डिजिटल सिकाइ प्लेटफर्मको प्रयोग सम्बन्धी जानकारी समेत नागरिक र विद्यार्थीलाई दिइएको छ ।
यसले नयाँ प्रविधिसँग स्थानीय समुदायलाई जोड्दै दैनिक जीवनमा डिजिटल साधनको प्रयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । अभियानको अर्को महत्वपूर्ण पक्षका रुपमा नगरपालिकाका १० वटा विद्यालयमा विद्यार्थी लक्षित डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा डिजिटल सिकाइ सामग्रीको प्रयोग, इन्टरनेट मार्फत अध्ययन, सिकाइ चौतारीको उपयोग,AI प्रविधिको जिम्मेवार प्रयोग तथा साइबर सुरक्षाबारे व्यवहारिक अभ्यास गराइएको छ । नगरपालिकाका अनुसार अभियानले समुदायमा रहेका वास्तविक डिजिटल चुनौतीलाई सम्बोधन गर्न थालेको छ ।
अधिकांश नागरिकसँग स्मार्टफोन भएपनि नागरिक एप, अनलाइन फाराम तथा अन्य सरकारी डिजिटल सेवा प्रयोगमा आत्मविश्वासको कमी देखिएको, OTP, पासवर्ड, फेक लिंक तथा साइबर ठगीको जोखिमबारे पर्याप्त जानकारी नपुगेको, डिजिटल स्वास्थ्य सेवा (टेलिहेल्थ) र स्वास्थ्यसम्बन्धी अनलाइन सूचना प्रयोग अझै सीमित रहेको अवस्थालाई अभियानले लक्षित गरेको छ ।
त्यस्तै विद्यार्थीमा डिजिटल उपकरणको जिम्मेवार प्रयोग, प्रमाणमा आधारित सिकाइ,AI लाई केवल उत्तर खोज्ने माध्यमका रुपमा नभई बुझेर सिक्ने साधनका रुपमा प्रयोग गर्ने बानी विकास, गलत सूचना पहिचान तथा साइबर सुरक्षाबारे सचेतना बढाउन पनि अभियान केन्द्रित रहेको छ ।
अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय मेन्टर मार्फत नियमित सहजीकरण, नगरपालिकाका कर्मचारीबाट लिड मेन्टरको सहयोग, प्रमाणमा आधारित अनुगमन तथा राष्ट्रिय स्तरमै दोहोर्याउन सकिने स्थानीय नमुना विकासमा जोड दिइएको छ ।
मोबाइल र इन्टरनेटको पहुँच बढ्दै गए पनि सुरक्षित, जिम्मेवार र प्रभावकारी डिजिटल प्रयोगका लागि अझै धेरै काम गर्नुपर्ने निष्कर्ष सहित बडीमालिका नगरपालिकाले सञ्चालन गरेको ‘एक टोल, एक अभियान्ता’ अभियान समुदाय र विद्यालय दुवै तहमा डिजिटल रुपान्तरणको प्रभावकारी अभ्यासका रुपमा स्थापित हुँदै गएको छ ।





प्रतिक्रिया