गाैमुल खबर डटकम बिहीबार २५, भदौ २०८३ ००:०२

बाजुराबाट डिजिटल स्वास्थ्य क्रान्तिको थालनी : ‘द लास्ट माइल’ सम्मेलन

चार नगरपालिकाको संयुक्त नेतृत्वमा सुरु भएको अभियान अब प्रदेश हुँदै राष्ट्रिय सम्मेलनसम्म पुग्ने
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार १४, २०८३
बाजुराबाट डिजिटल स्वास्थ्य क्रान्तिको थालनी : ‘द लास्ट माइल’ सम्मेलन

बाजुरा ः नेपालका दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्य सहित बाजुराबाट ‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन-२०२६’ सुरु भएको छ । बडीमालिका, बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिकाको संयुक्त नेतृत्वमा आयोजना गरिएको सम्मेलनले डिजिटल स्वास्थ्य सेवालाई स्थानीय अभ्यासबाट राष्ट्रिय नीति, साझेदारी र लगानीसँग जोड्ने महत्वपूर्ण पहल गरेको हो ।

स्वास्थ्य खबर फाउण्डेशनको सहकार्य तथा अष्ट्रेलियास्थित स्मार्ट हेल्थ ग्लोबलको मुख्य अगुवाइमा आयोजित सम्मेलनले टेलिमेडिसिन र भिडियो परामर्श मार्फत दुर्गम समुदायका गाउँमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराउने अभियानलाई थप संस्थागत बनाउने लक्ष्य लिएको छ ।

नेपालका अधिकांश दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव, उपचारका लागि लामो दूरीको यात्रा, महँगो खर्च तथा समयमै स्वास्थ्य सेवा नपाउने समस्याले नागरिक अझै प्रभावित भइरहेका छन् । यिनै चुनौतीको समाधानका रुपमा डिजिटल स्वास्थ्य सेवालाई प्रभावकारी माध्यम बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलन संयोजक अमर खड्काका अनुसार डिजिटल स्वास्थ्य सेवा अब भविष्यको अवधारणा नभई व्यवहारमा सफल हुँदै गएको अभ्यास हो। “यसलाई दीगो र प्रभावकारी बनाउन स्थानीय सरकार, स्वास्थ्य संस्था, नीति निर्माता तथा विकास साझेदारबीच साझा सहकार्य आवश्यक छ,“ उनले बताएका छन् ।

स्मार्ट हेल्थ ग्लोबलका प्रमुख मनोज खड्काले आर्थिक अभाव, भौगोलिक विकटता वा विशेषज्ञ चिकित्सकको पहुँच नहुँदा उपचारबाट बञ्चित हुने अवस्था अन्त्य गर्न डिजिटल स्वास्थ्य सेवा प्रभावकारी विकल्प बनेको बताएका छन् । उनका अनुसार टेलिफोन तथा भिडियो मार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श गर्ने सेवा हाल बाजुरासहित सुदूरपश्चिमका नौ जिल्ला र कर्णाली प्रदेशको एक जिल्लामा सञ्चालन भइरहेको छ ।

बाजुराको चुथी स्वास्थ्य चौकीबाट पहिलो पटक सुरु गरिएको टेलिमेडिसिन सेवा अहिले धेरै बिरामीका लागि आशाको केन्द्र बनेको छ । पहिले सामान्य उपचारका लागि समेत दिनौँ हिँड्नुपर्ने बाध्यता रहेका नागरिक अहिले आफ्नै स्थानीय स्वास्थ्य संस्थाबाट विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन थालेका छन् । यसले उपचार खर्च र समय दुवै बचाउनुका साथै समयमै उपचार सुरु गर्न सहज बनाएको छ ।

तीन चरणमा सञ्चालन हुने सम्मेलनको पहिलो चरण बाजुरामा सम्पन्न भएको छ । दोस्रो चरण प्रदेश स्तरीय सम्मेलन धनगढीमा तथा अन्तिम राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गरिनेछ । यसले स्थानीय अनुभव, प्रदेश स्वास्थ्य प्रणाली, राष्ट्रिय नीति, विकास साझेदार तथा लगानीकर्तालाई एउटै साझा मञ्चमा जोड्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधिसहित अष्ट्रेलियाबाट स्मार्ट हेल्थ ग्लोबलको प्राविधिक टोलीको सहभागिता रहेको छ। ‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन-२०२६’ ले एउटा स्पष्ट सन्देश दिएको छ ।

यदि प्रविधिलाई स्थानीय सरकारको नेतृत्व, प्रभावकारी नीति, स्वास्थ्यकर्मीको समर्पण र विकास साझेदारको सहकार्यसँग जोड्न सकियो भने नेपालको दुर्गम गाउँमा बस्ने नागरिकले पनि आफ्नै गाउँबाट विशेषज्ञ चिकित्सकको सेवा सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

बाजुराबाट सुरु भएको यो अभियान नेपालको स्वास्थ्य प्रणालीलाई थप समावेशी, पहुँचयोग्य र प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया