गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०४:०४

‘प्लास्टिक ल्याउ, साबुन/पैसा लैजाउ’देखि विपन्नलाई निःशुल्क विद्युतसम्म : बडीमालिकाको ५१ करोड ६९ लाखको बजेट सार्वजनिक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार १०, २०८३
‘प्लास्टिक ल्याउ, साबुन/पैसा लैजाउ’देखि विपन्नलाई निःशुल्क विद्युतसम्म : बडीमालिकाको ५१ करोड ६९ लाखको बजेट सार्वजनिक

बाजुरा ः बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि रु. ५१ करोड ६९ लाख १९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार समृद्ध बडीमालिकाका प्रमुख आधार” भन्ने मूल नारासहित नगरसभा मार्फत नीति, कार्यक्रम तथा वार्षिक बजेट सार्वजनिक गरिएको हो।

नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रवक्ता धर्मराज पाध्यायले नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटका प्रमुख विषय सार्वजनिक गर्दै बजेट संघीय सरकार, प्रदेश सरकार तथा नगरपालिकाको आन्तरिक स्रोतको साझेदारीमा तयार गरिएको जानकारी दिए।

नगरपालिकाका अनुसार बजेटको प्रमुख स्रोत संघीय सरकारको सशर्त तथा समानीकरण अनुदान, राजस्व बाँडफाँट र प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान रहेका छन्। नगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट रु. ३ करोड संकलन गर्ने लक्ष्य पनि लिएको छ।

बजेटका प्रमुख स्रोत

संघीय सशर्त अनुदानबाट रु. १७ करोड ४३ लाख, संघीय समानीकरण अनुदानबाट रु. ११ करोड २३ लाख, संघीय राजस्व बाँडफाँटबाट रु. १० करोड ७९ लाख ७९ हजार प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, प्रदेश समपूरक अनुदान रु. १ करोड ५८ लाख ७ हजार, प्रदेश सशर्त अनुदान रु. १ करोड १९ लाख, संघीय समपूरक अनुदान रु. १ करोड ११ लाख, संघीय विशेष अनुदान रु. १ करोड, झोलुङ्गे पुल क्षेत्रगत विकास कार्यक्रमअन्तर्गत रु. ५३ लाख तथा प्रदेश विशेष अनुदानतर्फ रु. ३० लाख ५० हजार समावेश गरिएको छ।

फोहोर व्यवस्थापनमा नवीन कार्यक्रम

नगरपालिकाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन “प्लास्टिक ल्याउ, साबुन/पैसा लैजाउ” अभियान सञ्चालन गर्ने भएको छ। यस कार्यक्रमका लागि रु. १ लाख विनियोजन गरिएको छ।

साथै, घरधुरीमै कुहिने र नकुहिने फोहोर छुट्याउने परिवारलाई प्रोत्साहन गर्न रु. ५० हजार बजेट व्यवस्था गरिएको छ।

विपन्न परिवारलाई निःशुल्क विद्युत

नगरभित्रका गरिब तथा विपन्न परिवारलाई राहत दिन २० युनिटसम्म विद्युत महसुल निःशुल्क गर्ने कार्यक्रमका लागि रु. ६ लाख ४८ हजार विनियोजन गरिएको छ।

शिक्षा र स्वास्थ्यमा प्राथमिकता

विद्यालयमा दिवा खाजा तथा डिजिटल शिक्षालाई प्रवर्द्धन गर्न रु. ३० लाख विनियोजन गरिएको छ भने दलित तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न रु. १० लाख छुट्याइएको छ।

स्वास्थ्य क्षेत्रमा सबै स्वास्थ्य संस्थामा ‘स्मार्ट हेल्थ टेलिमेडिसिन सेवा’ विस्तार गरिने तथा ज्येष्ठ नागरिक र सुत्केरी महिलाको घरमै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ।

रोजगारी र पूर्वाधार विकासमा जोड

स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि सडक मर्मतकर्ता कार्यक्रमका लागि रु. ५५ हजार ४ सय तथा झोलुङ्गे पुल हेरालाका लागि रु. २ लाख २२ हजार विनियोजन गरिएको छ।

पूर्वाधारतर्फ रजाली-आम्लिस सडक निर्माणका लागि रु. ३२ लाख, वडा कार्यालय भवन निर्माणका लागि रु. ४० लाख, कैलाशेश्वरी माध्यमिक विद्यालय भवन निर्माणका लागि रु. ३० लाख तथा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि प्रदेश विशेष अनुदानअन्तर्गत रु. १ करोड बजेट व्यवस्था गरिएको छ।

खानेपानी तथा सिँचाइतर्फ गौमुल–दर्ना खानेपानी आयोजनाका लागि रु. २३ लाख र नगाने सिँचाइ कुलो निर्माणका लागि रु. ३० लाख विनियोजन गरिएको छ। साथै, सडक तथा अन्य पूर्वाधारको नियमित मर्मत र सञ्चालनका लागि रु. ४९ लाख ५४ हजार ६ सय छुट्याइएको छ।

सुशासन र डिजिटल सेवामा विशेष जोड

नगरपालिकाले आगामी वर्षदेखि सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा ई-हाजिरी प्रणाली अनिवार्य गर्ने निर्णय गरेको छ। हाजिर नहुने कर्मचारीको तलब कट्टा गरिने व्यवस्था समेत गरिने जनाइएको छ।

मार्तडी बजार क्षेत्रमा खानेपानी पाइपलाइनमा समस्या आए २४ देखि ४८ घण्टाभित्र मर्मत गर्न क्विक रेस्पोन्स टिम परिचालन गरिनेछ।

कृषकलाई बिचौलियाबाट मुक्त गराउन मार्तडी कृषि हाटबजारमा साप्ताहिक बजार सञ्चालन तथा वडा तहमा संकलन केन्द्र स्थापना गरिनेछ। साथै, ‘कृषि एप’ सञ्चालनमा ल्याइने योजना पनि बजेटमा समावेश गरिएको छ।

युवालाई डिजिटल सीप

युवालाई स्वरोजगार र आम्दानीमुखी सीप प्रदान गर्न भ्लगिङ, फोटोग्राफी, भिडियो सम्पादन र डिजिटल मार्केटिङ सम्बन्धी तालिम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

सञ्चार क्षेत्रका लागि १० लाख

नगरपालिकाले सञ्चार क्षेत्रको प्रवर्द्धन तथा श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिका लागि मिडिया प्रवर्द्धनतर्फ रु. ५ लाख र सूचना प्रकाशनका लागि रु. ५ लाख विनियोजन गरेको छ।

नगर प्रवक्ता पाध्यायका अनुसार प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, सुशासन, वातावरण संरक्षण तथा नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ।

नगरसभाबाट पारित नीति तथा कार्यक्रम कार्यान्वयनमार्फत समृद्ध र आत्मनिर्भर बडीमालिका निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

May be an image of one or more people, people studying and crowd

प्रतिक्रिया