गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ १२:२८

बुढीगंगाको महत्वाकांक्षी नीति : ‘हरेक घरमा अवसर, हरेक नागरिकमा समृद्धि’

नगर प्रमुख बाँनियाँद्वारा महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक’
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार ०५, २०८३
बुढीगंगाको महत्वाकांक्षी नीति : ‘हरेक घरमा अवसर, हरेक नागरिकमा समृद्धि’

बाजुरा ः बुढीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगर प्रमुख रामबहादुर बाँनियाँले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार; सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

नगर प्रमुख बाँनियाँले विगतका वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गर्दै आगामी वर्ष त्यसलाई अझ प्रभावकारी बनाइने बताए।

शिक्षामा व्यापक सुधार

नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ। आगामी वर्ष विद्यालयमा सूचना प्रविधिको विस्तार, ICT ल्याब स्थापना, शिक्षक क्षमता विकास, विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धि तथा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने अभियान सञ्चालन गरिने भएको छ।

नगरपालिकाले १० वर्षे शिक्षा विकास योजना लागू गर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति, पाठ्यपुस्तक, दिवा खाजा तथा छात्रालाई सेनिटरी प्याड वितरणलाई निरन्तरता दिने जनाएको छ।

स्वास्थ्य सेवामा नयाँ फड्को

निर्माणाधीन १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने, टेलिमेडिसिन सेवा सबै स्वास्थ्य संस्थामा विस्तार गर्ने, स्वास्थ्य बीमा अभियानलाई प्रभावकारी बनाउने तथा मातृ तथा शिशु स्वास्थ्य सुधारका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

नगरपालिकाले आगामी दुई वर्षभित्र स्वास्थ्य बीमाको पहिलो सेवा केन्द्र बुढीगंगा आधारभूत अस्पताललाई बनाउने लक्ष्यसमेत लिएको छ।

कृषि र पशुपालनमा आत्मनिर्भरता

कृषि उत्पादन वृद्धि, रैथाने बाली संरक्षण, फलफूल खेती प्रवर्द्धन, बाली तथा पशु बीमा, किसानलाई अनुदान, कृषि उपज संकलन तथा बजार व्यवस्थापनका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

नगरपालिकाले मकै, कोदो, आलु, कागुनो तथा तरकारी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित विभिन्न पकेट क्षेत्र विस्तार गर्ने नीति लिएको छ।

युवालाई रोजगारी र उद्यमशीलतामा जोड

‘बनौं उद्यमी, सिर्जना गरौं रोजगारी’ अभियानमार्फत युवालाई सीपमूलक तालिम, शून्य ब्याजदरमा बीउपूँजी, लोकसेवा तयारी कक्षा तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने भएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीपलाई स्थानीय विकास र उद्यमसँग जोड्ने कार्यक्रम पनि सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

सडक, खानेपानी र पूर्वाधारमा प्राथमिकता

नगरपालिकाले बाम्का-नगरपालिका, बेतालमाण्डौँ-त्रिशक्ति–जुवापानी तथा ताँप्रीसेरा-ब्रह्मतोला सडक कालोपत्रे कार्यलाई निरन्तरता दिने भएको छ। साथै नयाँ सडक स्तरोन्नति, खानेपानी विस्तार, लिफ्टिङ खानेपानी तथा सिँचाइ आयोजना सञ्चालन गरिने नीति लिइएको छ।

‘एक घर, एक धारा’ अभियानलाई थप प्रभावकारी बनाउँदै सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने लक्ष्य राखिएको छ।

सामाजिक रुपान्तरणमा विशेष जोड

बालविवाह, छाउपडी, महिला हिंसा, लागूऔषध दुर्व्यसन तथा सामाजिक विभेद अन्त्यका लागि सचेतनामूलक अभियान सञ्चालन गरिने भएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा विपन्न वर्ग लक्षित कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

सुशासन र डिजिटल सेवा विस्तार

नगरपालिकाले ‘ई-बुढीगंगा’ कार्यक्रममार्फत सेवा प्रवाहलाई थप डिजिटल बनाउने, गुनासो व्यवस्थापन प्रणालीलाई अनलाइनमा रूपान्तरण गर्ने तथा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणलाई नियमित गर्ने नीति लिएको छ।

नगर प्रमुख बाँनियाँले नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चार क्षेत्र तथा सम्पूर्ण नगरबासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै समृद्ध बुढीगंगा निर्माणका लागि साझा सहकार्यको आह्वान गरे।

“समृद्ध बुढीगंगा निर्माणको यात्रामा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउँदै नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने हाम्रो लक्ष्य हो,” नगर प्रमुख बाँनियाँले बताए।

प्रतिक्रिया