बाजुरा ः बाजुरा-हुम्ला जोड्ने कर्णाली करिडोर सडकखण्ड अनिश्चितकालका लागि अवरुद्ध गरिएको छ । रानीसैन क्षेत्रको लाम्पाटामा भएको कुटपिट तथा दुर्व्यवहार घटनामा संलग्न व्यक्तिहरु माथि हालसम्म कारबाही नभएको भन्दै बाजुराबासीले बिहीबारदेखि सडक अवरोध गरेका हुन् ।
बाजुराको हिमाली गाउँपालिका-३ स्थित लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर भएको विवादका क्रममा बाजुराबासी माथि भएको आक्रमणका दोषीहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग सहित आन्दोलन सुरु गरिएको रानीसैन संघर्ष समितिले जनाएको छ ।
समितिले घटनामा संलग्न व्यक्तिहरु विरुद्ध मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भइसकेपनि उनीहरुलाई पक्राउ नगरिएको भन्दै दबाबमूलक आन्दोलनलाई थप सशक्त बनाएको छ । दोषीहरूलाई पक्राउ नगरेसम्म विरोध प्रदर्शन र सडक अवरोध जारी रहने समितिको अडान छ ।
यसअघि संघर्ष समितिले बुधबार जिल्लाका मुख्य बजार क्षेत्रमा प्रदर्शन तथा नाराबाजी गर्दै घटनामा संलग्न व्यक्तिहरु माथि तत्काल कारबाही गर्न माग गरेको थियो । आन्दोलनका कारण बाजुरादेखि हुम्लासम्म सञ्चालन हुने सवारी साधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन् ।
गत जेठ ३ र ५ गते लाम्पाटामा भएको घटनामा हुम्लाबाट आएका केही व्यक्तिहरुले बाजुराका स्थानीय, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, सुरक्षाकर्मी तथा पर्यटक माथि आक्रमण गरेको थियो ।
उक्त घटनामा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोली माथि समेत आक्रमण भएको बताइएको छ ।
घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमागारा गुरुङ तथा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका थिए ।
स्थानीयका अनुसार जेठ २३ गते रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेटिएको, गोठमा आगजनी गरिएको तथा दुव्र्यवहार भएको घटना समेत सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।
विवाद बढ्दै गएपछि रानीसैन क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ । उक्त बेस सञ्चालनका लागि बुधबार मार्तडीबाट २८ जना सुरक्षाकर्मी त्यसतर्फ परिचालन गरिएको छ ।
रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको भन्दै स्थानीयबासीले आगजनी, कुटपिट, लुटपाट तथा दुर्व्यवहारका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।





प्रतिक्रिया