गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४१
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ १२, २०८३
नदी-खोलामा करेन्ट र विषादी प्रयोग गरी माछा मार्न रोक

बाजुरा ः बाजुराको बडीमालिका नगरपालिकाले नगर क्षेत्रभित्रका नदी तथा खोलामा करेन्ट र विषादी प्रयोग गरी माछा मार्ने कार्य तत्काल रोक्न सार्वजनिक सूचना जारी गरेको छ ।

नगरपालिकाले सोमबार सूचना जारी गर्दै बुढीगंगा नदी, बाउली खोला, कोर्धाली गाड, अनाई खोला लगायत विभिन्न नदी तथा खोलामा विद्युतीय करेन्ट तथा विषादी प्रयोग गरी अवैध रुपमा माछा मार्ने कार्य भइरहेको जनगुनासो आएको जनाएको छ ।

सूचनामा जलचर संरक्षण ऐन, २०१७ को दफा ३ अनुसार कुनै पनि व्यक्तिले जलचर समात्ने वा मार्ने उद्देश्यले जलाशय वा त्यसको आसपासमा विद्युतीय करेन्ट, विस्फोटक पदार्थ, विषादी तथा अन्य विषालु पदार्थ प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।

त्यस्तै ऐनको दफा ५(१) अनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका जलचर तथा जलस्रोतको संरक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्ने कार्यले जलचरको अस्तित्वमा प्रतिकूल असर पार्नुका साथै जैविक विविधता र वातावरणीय सन्तुलनमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले यस्ता अवैध गतिविधि नगर्न सबैमा आग्रह गरेको छ ।

यदि कसैले नगर क्षेत्रभित्रका नदी तथा खोलामा करेन्ट, विषादी वा अन्य अवैध माध्यम प्रयोग गरी माछा मारेको पाइएमा जलचर संरक्षण ऐन, २०१७ को दफा ८ बमोजिम आवश्यक कानुनी कारबाही तथा सजाय गरिने चेतावनी समेत दिइएको छ ।

May be an image of ticket stub and text

प्रतिक्रिया