गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०२:४८

१८ वर्षदेखिको खुट्टाको पीडा अन्त्य गर्दै बाजुरामा आशाका केन्द्र बने डाक्टर शिरीष श्रेष्ठ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ १२, २०८३
१८ वर्षदेखिको खुट्टाको पीडा अन्त्य गर्दै बाजुरामा आशाका केन्द्र बने डाक्टर शिरीष श्रेष्ठ

बाजुरा ःबाजुराको दुर्गम गाउँमा १८ वर्षदेखि बाँया खुट्टाको नशा चुँडिएर असह्य पीडा झेलिरहेका खप्तड छेडेदह गाउँपालिका-६ मैतोलाका ३३ वर्षीय उमेश नाथका लागि हिँडडुल गर्नु समेत कठिन बनेको थियो ।

उपचारको खोजीमा उनले विभिन्न अस्पताल र स्वास्थ्य शिविर धाए, तर पीडा कम हुन सकेन । वर्षौँसम्म उपचार गराउँदा पनि निको नभएको समस्या अन्ततः जिल्ला अस्पताल बाजुरामै उनकाे सफल अप्रेसनपछि समाधान भएको छ ।

जिल्ला अस्पताल बाजुरामा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शिरीष श्रेष्ठले उमेश नाथको समस्याको गम्भीरता बुझेर आवश्यक परीक्षणपछि खुट्टाको सफल अप्रेसन गरेका थिए ।

अप्रेसनपछि अहिले नाथ सामान्य रुपमा हिँडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि पीडामा रहेका उनी अहिले नयाँ जीवन पाएजस्तै अनुभूति गरिरहेको बताउँछन् ।

“धेरै ठाउँ उपचार गराएँ, तर निको भएन । डाक्टर श्रेष्ठले अप्रेसन गरेपछि अहिले निकै सहज भएको छ,” नाथले खुसी व्यक्त गरे । दुर्गम पहाडी जिल्ला बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा पाउनु अझै पनि चुनौतीपूर्ण मानिन्छ ।

सडक पहुँच, आधुनिक उपकरण र विशेषज्ञ जनशक्तिको अभावका बीच जिल्ला अस्पताल धेरै नागरिकका लागि अन्तिम भरोसाको केन्द्र बनेको छ ।

यस्तै परिस्थितिमा डाक्टर श्रेष्ठले बिरामीको उपचारमा देखाएको समर्पण र व्यवहारले स्थानीयको विश्वास जित्दै गएको छ । अस्पतालमा दैनिक बिरामीको चाप अत्यधिक हुन्छ ।

पीडाले कराइरहेका बिरामी र उपचारको प्रतीक्षामा रहेका आफन्तबीच पनि डाक्टर श्रेष्ठको शान्त व्यवहार, मुस्कान र बिरामी प्रतिको संवेदनशीलताले फरक अनुभूति दिलाउने गरेको सेवाग्राहीहरू बताउँछन् ।

धेरै बिरामीको भनाइमा, “उहाँको मुस्कानले नै आधा रोग निको हुन्छ ।” व्यस्त समय तालिकाका बाबजुद पनि उनले प्रत्येक बिरामीको समस्या ध्यानपूर्वक सुन्ने, रोगको जडसम्म पुग्ने र उपचारसँगै बिरामीको मनोबल बढाउने प्रयास गर्ने गरेका छन् । यहीँ कारण बाजुराका धेरै बिरामी अहिले जिल्ला अस्पतालमै विशेषज्ञ सेवा पाउन थालेका छन् ।

स्वास्थ्य क्षेत्रमा प्राविधिक दक्षतासँगै मानवीय संवेदनाको पनि उत्तिकै आवश्यकता हुन्छ भन्ने उदाहरण डाक्टर श्रेष्ठले व्यवहारमै प्रस्तुत गरिरहेका छन् । विशेषगरी खुट्टाको जटिल समस्या र नशा सम्बन्धी रोगको सफल उपचारपछि धेरै बिरामीले राहत महसुस गरेका छन् ।

स्थानीयबासीहरुले राज्यलाई यस्ता समर्पित चिकित्सकलाई संरक्षण र प्रोत्साहन गर्न आग्रह गरेका छन् । “डाक्टर शिरीष श्रेष्ठ जस्ता चिकित्सक दुर्गम क्षेत्रमा टिक्न सके मात्र हामी गाउँका बिरामीले गुणस्तरीय सेवा पाउँछौँ,” स्थानीयको भनाइ छ ।

स्वास्थ्य सेवा औषधि र उपचारमा सीमित नभई बिरामीमा भरोसा जगाउने प्रक्रिया पनि हो । डाक्टर श्रेष्ठको समर्पण, सहानुभूति र सफल उपचारले बाजुराका धेरै बिरामीको जीवनमा नयाँ आशा थपेको छ ।
 

प्रतिक्रिया