बाजुरा : गौमुल गाउँपालिका–२ सिम खेतमा पानीसंगै आएको भीषण हावाहुरीले पसल तथा निवास उडाएको छ । शुक्रबार साँझ ६ बजे आएको हावाहुरीले व्यवसायी गोरख रोकायाको जस्तापाताले छाएको पसलमा ठुलो क्षति पुर्याएको हो ।
सिममा विगत लामो समयदेखि स्थायी रुपमा बसोबास गर्दै आएका व्यवसायी रोकायाको घर तथा पसलमा पानीसँगै आएको भीषण हावाहुरीले पूर्ण रुपमा क्षति पुर्याएकोे वडाध्यक्ष देव बहादुर रोकायाले बताएका छन् ।
वडा सदस्य प्रेम बहादुर रोकायाका अनुसार हावाहुरीले जस्तापाता काम नलाग्ने गरी उडाएर क्षति पुर्याएको छ, भने काठ भाचिएका र घरको वाल भत्किनुको साथै चर्किएको छ । पीडित रोकायाको परिवार वैकिल्पक बस्ने कुनै घर नहुँदा हिजो बेलुका छानामा बसेका र आज स्थानीयको सहयोगमा पुर्नःनिर्माण गरिएको उनले बताए ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय गौमुल घट्मुनाका सहायक प्रहरी निरीक्षक मोहन धामीको कमाण्डमा ३ जना प्रहरीको टोली पुगेर क्षतिको एकीन विवरण तयार गरेको थियो । प्रहरी निरीक्षक धामीका अनुसार हावाहुरीले पसलमा सामानसहित करिब १५ लाख बराबरको क्षति भएको छ । तर मानवीय क्षति नभएको उनले जानकारी दिएका छन् ।
पीडित रोकायाको अर्को ठाउँ बस्ने घर नभएपछि वडाको समन्वयमा गाउँपालिकाले तत्काल राहतका रुपमा जस्तापाता र सिमेन्ट उपलब्ध गरेको छ । वडाध्यक्ष देव बहादुर रोकाया, वडा सदस्य प्रेम रोकाया, पञ्जिकरणका प्रेम सार्की, पत्रकार प्रमित वि.कको टोलीले उक्त सामाग्री आजै पीडित रोकायाको घरमा पुर्याएको हो ।
हावाहुरीले सिमको पारी बगरमा रहेको स्थानीय भिम सार्कीको टिनले छाएको छानोमा पनि क्षति पुर्याएको प्रहरीले जनाएको छ । उनलाई पनि आवश्यकताका आधारमा जस्तापाता दिएको वडाध्यक्ष रोकायाल बताएका छन् । २०७७ साल साउँन २५ गते आएको बाढीपहिरोले समेत सिममा घर तथा पसलहरु पुरिएका थिए ।





प्रतिक्रिया