बाजुरा ःजिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बाजुरा-हुम्ला सीमा क्षेत्र अन्तर्गत हिमाली गाउँपालिका-३ लाम्पाटामा उत्पन्न विवादको विषयमा पाँच बुँदे निर्णय गरेको छ ।
बैठकले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका केही बासिन्दाबाट बाजुराका स्थानीय तथा पर्यटक माथि कुटपिट र लुटपाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी दोषी माथि कानुनी कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै, हिमाली गाउँपालिका-३ क्षेत्रमा सुरक्षा निकायको पर्याप्त उपस्थिति गराई स्थानीयबासी तथा रानीसैन यात्रा गर्ने आन्तरिक पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले लाम्पाटामा अस्थायी प्रहरी पोष्ट निर्माण कार्य अविलम्ब सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
घटनाको विषयलाई लिएर कर्णाली करिडोर अन्तर्गत हिमाली गाउँपालिका क्षेत्रमा सवारी साधन सञ्चालनमा अवरोध नगरी निर्वाध आवागमनको वातावरण बनाउन सबै पक्षसँग संवाद र समन्वय गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमलाई जानकारी दिएका छन् ।
बैठकले बाजुरा र हुम्ला जिल्लाबीचको आपसी सद्भाव कायम राख्दै घटनामा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याउन आवश्यक सहयोग र समन्वय गर्न दुवै जिल्लाका सरोकारवालासँग अपिल गरेको छ ।






प्रतिक्रिया