गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२६

सुरक्षित र जागरुक बनाउन गौमुलका किशोरीहरुलाई पीसविन नेपालद्धारा आत्मरक्षा तालिम

गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ ०४, २०८३
सुरक्षित र जागरुक बनाउन गौमुलका किशोरीहरुलाई पीसविन नेपालद्धारा आत्मरक्षा तालिम

बाजुरा : गौमुल गाउँपालिकामा लैङ्गिक हिंसा र हुन सक्ने दुव्र्यवहार न्यूनीकरण गर्ने उद्देश्यले किशोरीहरुलाई सुरक्षित र जागरुक बनाउन आत्मरक्षा तालिम प्रदान गरिएको छ । 

प्लान इन्टरनेशनल नेपालसंगकाे साँझेदारीमा पीसविन नेपालद्धारा सञ्चालित किशोरीहरुको अधिकार र उत्थानशिलताका लागि आभा परियोजनाको आर्थिक सहयोगमा सोही पालिकाको वडा नं.४ र ५ का किशोरी क्लवका सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।

समुदायमा हुन सक्ने हिंसा, दुव्र्यवहार र विभेदको विरुद्ध सहभागि किशोरीहरुलाई अभ्याससहितको तालिम प्रदान गरिएको पीसविन नेपालका गौमुल गाउँपालिका फिल्ड सुपरभाईजर बिरेन्द्र रावलले बताएका छन् ।

किशोरीहरुले लिनु पर्ने जिम्मेवारी, हिंसा भइहाले भने प्रतिरक्षा तथा प्रतिकार गर्ने शारिरिक र मानसिक विधि र हिंसा भईसकेपछि गर्नुपर्ने पहलहरुको बारेमा ३७ जना किशोरीहरुलाई जेठ १ गतेदेखि ३ गतेसम्म, तीन दिन ज्ञान प्रदान गरेको उनले बताए ।

गौमुल गाउँपालिका ४ मा रहेको कीर्तिचौर माध्यमिक विद्यालय कालादहमा सञ्चालन गरिएको आत्मरक्षा तालिमको सहजीकरण विएस ओड र सह प्रशिक्षक अस्मिता भुलले गरेका हुन् । तालिममा सहभागिहरुले आत्मरक्षाका लागि निकै उपलब्धीमूलक तालिम भएको भन्दै खुशी व्यक्त गरे । उनीहरुले यस्ता व्यवहारिक तालिमले सतर्क बनाउन सहयोग पुर्याउने बताए ।

देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलात्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला पीसविन नेपालले विज्ञ प्रशिक्षक सहीतको आत्मरक्षा तालिम दिएको हो ।  

सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्ने लगायतका गतिविधिका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा अप्रत्यक्ष र प्रत्यक्ष यौनहिंसा, दुव्र्यवहारबारे सचेतना परामर्श गरी अभ्यास समेत गराइएको थियो ।

किशोरीहरुलाई आइपर्ने विभिन्न किसिमका समस्यालाई तत्काल समाधान गर्न आत्मरक्षा तालिम अत्यन्तै प्रभावकारी रहेको छ । विगत लामो समयदेखि पीसविन नेपालले समुदायमा लैगिंक हिंसा न्यूनीकरण, बालबालिकाको सुरक्षा तथा गुणस्तरीय शिक्षा, जातीय विभेदविरुद्ध र लैगिंक समानता जस्ता थुप्रै क्षेत्रमा काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया