बाजुरा ःगौमुल गाउँपालिका-४ निलासैनमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रभावकारी सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा सम्पन्न कार्यक्रमले स्थानीय तहमा नागरिकको पहुँचमा सेवा पुर्याउने तथा सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले शान्ति सुरक्षा कायम गर्न प्रशासन, सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनले नागरिकलाई राज्यका सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा प्रमुख अतिथि रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले सेवा प्रवाह, अपराध नियन्त्रण तथा नागरिक सचेतनाका विषयमा जानकारी गराएका थिए ।
वडा अध्यक्ष अमर विकका अनुसार कार्यक्रममा स्थानीय तहमा देखिएका समस्या, सुरक्षा चुनौती तथा सार्वजनिक सेवा प्रभावकारी बनाउने उपायबारे छलफल गरिएको थियो ।
कार्यक्रममा सेनानी कृष्ण तिमिल्सेना, सशस्त्र प्रहरी नायव उपरीक्षक खडकबहादुर शाही, अनुसन्धान अधिकृत दीपेन्द्र बम लगायत वडा नम्बर ४ र ५ का जनप्रतिनिधि तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया