बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन विस्तार तथा जनता भेटघाट कार्यक्रम गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गौमुल गाउँपालिका समितिको आयोजनामा यहि मिति २०८३ जेठ ५ गतेदेखि जनता भेटघाट तथा वडा अधिवेशन सुरु गर्ने गाउँपालिका समिति सचिव सुरेन्द्र रोकायाले बताएका छन् ।
उनकाअनुसार चुनावपछिको पहिलो पटक जनता भेटघाट तथा ६ वटै वडामा अधिवेशन गर्ने कार्यतालिका रहेको छ । भेटघाटमा संगठन विस्तारसंगै जनताका समस्या पहिचान गर्ने, सुझाव संकलन गर्ने, पार्टीको मुख्य लक्ष्य, उद्देश्यसहित विभिन्न गतिविधिको जानकारी गराउने उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समितिको समन्वयमा पार्टी सभापति नवराज जैशी, प्रतिनिधि सभा सदस्यका उम्मेदवार हेमराज थापा, पालिका सभापति गोपाल बोहरा लगायतका नेताहरुको उपस्थितिमा जनता भेटघाट तथा अधिवेशन गर्ने उनले बताए ।
एक महिना अघि वडा भेला सम्पन्न गरेको रास्वपा गौमुल गाउँपालिका समितिले लगत्तै वडा अधिवेशन सकेर पालिका अधिवेशन गर्ने तयारी तीब्र पारेको उनको भनाइ छ । जेठ १७ गते भने गाउँपालिकाको केन्द्र घट्मुनामा भव्यताका साथ पालिका अधिवेशन गर्ने गृहकार्य थालेको छ ।
गौमुल गाउँपालिका वडा नं.१ मा जेठ ५ गते अम्लिसमा विहान जनता भेटघाट तथा दिउँसो १ बजे वडा अधिवेशन गरिने भएको छ । जेठ ६ गते वडा नं.२ मा वडा कार्यालयको केन्द्र तल्लोदुगून, जेठ ७ गते वडा नं.३ को माझपाली, जेठ ८ गते वडा नं.४ को निलासैन र सोही दिन वडा नं.५ को नक्राडामा वडा अधिवेशन गरिने भएको छ ।
त्यसैगरी जेठ ९ गते वडा नं.६ विभिन्न टोलमा भेटघाट र दिउँसो १ बजे वडा कार्यालयको केन्द्र घट्मुनामा वडा अधिवेशन गर्ने सचिव रोकायाले बताएका छन् । पछिल्लो समय गौमुल गाउँपालिकामा संगठन विस्तार गर्न नेता सक्रिय देखिएका छन् ।
समय समयमा घरदैलो कार्यक्रम, युवा पक्तिंसंग छलफल, अन्तरक्रिया र संवाद सञ्चालन गरिरहेका छन् । भने पार्टी संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेर तीब्र रुपमा आफ्ना गतिविधि अगाडी बढाईरहेका छन् ।





प्रतिक्रिया