बाजुरा : निर्माण व्यवसायी संघ, बाजुराले निर्माण सामग्री, डिजेल तथा श्रमिक पारिश्रमिकमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
संघले बुझाएको ज्ञापनपत्रमा मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन निर्माण उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ । निर्माण क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं नागरिकलाई रोजगारी प्रदान गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको संघको भनाइ छ ।
ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, पेट्रोलियम पदार्थ, निर्माण सामग्री तथा श्रमिक पारिश्रमिकमा अस्वाभाविक वृद्धि हुँदा निर्माण व्यवसायीहरू मारमा परेको उल्लेख गरिएको छ । विशेष गरी डिजेलको मूल्यमा भएको वृद्धि र निर्माण सामग्रीको मूल्य आकासिँदा सञ्चालनमा रहेका आयोजना प्रभावित बनेको संघले जनाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले पटक–पटक मूल्य समायोजनको व्यवस्था लागू गर्न सरकारसँग माग गरे पनि समस्या समाधान नभएको संघको गुनासो छ । समयमै मूल्य समायोजनको निर्णय नहुँदा निर्माण व्यवसायी आर्थिक तथा मानसिक दबाबमा परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
संघले निर्माण व्यवसायीहरूले हालको परिस्थितिमा ठेक्का अनुसार काम गर्न कठिन भइरहेको उल्लेख गर्दै सरकारले तत्काल मूल्य समायोजनको व्यवस्था लागू गर्नुपर्ने माग गरेको छ । अन्यथा निर्माण कार्य ठप्प हुने र त्यसको प्रत्यक्ष असर विकास निर्माण तथा जनतामा पर्ने चेतावनी पनि दिइएको छ ।
ज्ञापनपत्रमा निर्माण व्यवसायीलाई धराशायी हुनबाट जोगाउन, निर्माण सामग्रीको मूल्यवृद्धि अनुसार लागत समायोजन गर्न तथा व्यवसायीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरिएको छ ।
निर्माण व्यवसायी संघ, बाजुराका महासचिव रमबहादुर शाहीद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको हो । ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले माग सम्बोधनका लागि केन्द्र सरकारमा पठाउने बताएका छन् । ज्ञापनपत्र बुझाउन अध्यक्ष बिनोद शाही लगायत निर्माण व्यवसायीको सहभागीता रहेको थियो ।





प्रतिक्रिया