बाजुरा ः बाजुराको बडीमालिका नगरपालिका अन्तर्गतका विद्यालयहरुको एसईई २०८३ को नतिजा उत्साहजनक देखिएको छ । नगरपालिकाभित्रका १० वटा विद्यालयबाट परीक्षामा सहभागी २ सय ५३ विद्यार्थीमध्ये २ सय ८ जना ग्रेड प्राप्त गर्न सफल भएका छन् ।
यससँगै नगरपालिकाको समग्र उत्तीर्णदर ८२.२९ प्रतिशत पुगेको छ । सार्वजनिक नतिजा अनुसार तीन विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् ।
वडा नं. ५ स्थित कैलाशेश्वरी माध्यमिक विद्यालय, वडा नं. ७ स्थित ज्ञानोदय माध्यमिक विद्यालय तथा वडा नं. ८ स्थित क्रेटरजोन एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा ल्याएका हुन् ।
नगरपालिकाभित्र सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको वडा नं. ८ को मालिका माध्यमिक विद्यालयबाट १ सय ४९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १ सय ३८ जना ग्रेड प्राप्त गर्न सफल भएका छन् ।
उक्त विद्यालयको उत्तीर्णदर ९२.६२ प्रतिशत रहेको छ । त्यसैगरी वडा नं. ३ स्थित चोयाकोट माध्यमिक विद्यालयले ९२.३१ प्रतिशत नतिजा हासिल गरेको छ भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको उत्तीर्णदर ९०.९१ प्रतिशत रहेको छ ।
लक्ष्मी माध्यमिक विद्यालयले ७० प्रतिशत तथा कैलाश माध्यमिक विद्यालयले ३८.४६ प्रतिशत नतिजा हासिल गरेका छन् । यस्तै वडा नं. १ को जाल्पा माध्यमिक विद्यालय र वडा नं. २ को सत्यवादी माध्यमिक विद्यालयको उत्तीर्णदर समान ३३.३३ प्रतिशत रहेको छ ।
नगरपालिकाले विद्यालयगत नतिजाको विश्लेषण गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर थप सुधार गर्न आवश्यक योजना तथा कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ ।





प्रतिक्रिया