धनगढी : सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका विषयमा केन्द्रित बृहत् संवाद कार्यक्रम ‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने भएको छ। सुदूरपश्चिम विकास फाउण्डेसनले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा सचिव पविन्द्र शाहीले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रम सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगसँगको सहकार्यमा आयोजना गर्न लागिएको जनाइएको छ। आयोजकका अनुसार सुदूरपश्चिम प्रदेशमा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा आधारित नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गर्ने उद्देश्य राखिएको छ। कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी र विज्ञहरूको सहभागिता रहने बताइएको छ।
पत्रकार सम्मेलनमा सार्वजनिक अवधारणापत्रअनुसार सुदूरपश्चिम प्रदेश ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र पर्यटन सम्भावनाले समृद्ध भए पनि अपेक्षित विकास हासिल गर्न नसकेको उल्लेख गरिएको छ। प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवाको असमान पहुँच, युवा पलायन र नीति कार्यान्वयनको चुनौती अझै कायम रहेको दस्तावेजमा उल्लेख छ। कार्यक्रममार्फत विकासका बिखण्डित बहसलाई एउटै मञ्चमा ल्याएर सरकार, निजी क्षेत्र र समुदायबीच समन्वय तथा सहकार्य बढाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
कार्यक्रममा उठेका निष्कर्ष तथा सुझावलाई नेपाल सरकारको आगामी बजेट तथा नीतिनिर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइने तयारी गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष नृप सुनारले प्रदेशको विकास प्राथमिकता, लगानीमैत्री वातावरण, पर्यटन प्रवर्द्धन, युवा रोजगारी तथा नीति सुधारका विषयमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको बताए।
उनले यस्ता संवादले नीति तथा योजनामा एकरूपता ल्याउन र विकासका मुद्दामा साझा समझदारी निर्माण गर्न सहयोग पुग्ने उल्लेख गरे। ‘सामूहिक लागि साझा बहस’ भन्ने नारासहित आयोजना हुन लागेको ‘सुदूरपश्चिम कचहरी २०८३’ आगामी जेठ २ र ३ गते धनगढीमा सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रमबाट सुदूरपश्चिमको दीर्घकालीन विकासका लागि व्यवहारिक सुझाव र कार्ययोजनासमेत तयार गरिनेछ।





प्रतिक्रिया