बाजुरा ः बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमी बोर्डिङ स्कुलकी विद्यार्थी पूजा कार्कीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान प्राप्त गरेकी छन् । उनले ३.९१ जीपीए ल्याएर जिल्लाभर उत्कृष्ट सफलता हासिल गरेकी हुन् ।
संस्थागत विद्यालयतर्फबाट प्राप्त यो उपलब्धिले विद्यालय, अभिभावक तथा सम्पूर्ण जिल्लाबासीलाई गौरवान्वित बनाएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयले सार्वजनिक गरेको बधाई सन्देश अनुसार पूजा कार्कीले कडा मेहनत, अनुशासन र निरन्तर अध्ययन मार्फत सफलता हात पारेकी हुन् ।
यसैगरी, विद्यालयका अन्य विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजा ल्याएका छन् । पूर्णिमा बडुवालले ३.८६, प्रेरणा सिंहले ३.८२, कञ्चन कटुवाल र नमुना बुढाले समान ३.७६ जीपीए प्राप्त गरेका छन् । विद्यालयले समग्रमा शतप्रतिशत नतिजा हासिल गरेको जनाएको छ ।
विद्यालयका प्रिन्सिपल मीनबहादुर कार्कीका अनुसार विद्यार्थीहरुको सफलता शिक्षकहरुको निरन्तर मार्गदर्शन, अभिभावकको सहयोग तथा विद्यार्थीहरुको मेहनतको प्रतिफल हो ।
जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल पूजा कार्कीलाई स्थानीयबासी, शिक्षक, अभिभावक तथा विभिन्न संघसंस्थाले बधाई तथा शुभकामना दिएका छन् ।
क्रिएटर जोन एकेडेमीले पछिल्ला वर्षहरुमा शैक्षिक गुणस्तर सुधार गर्दै उत्कृष्ट नतिजा निकाल्दै आएको छ । यो पटक गरेर तीन पटक एसइईमा प्रथम नतिजा हात पारिसकेको छ । यस वर्षको एसइई नतिजाले विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा थप स्थापित गरेको छ ।





प्रतिक्रिया