गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ १२:३५

शिक्षक नेताकै पालिकामा शैक्षिक संकट : अधिकांश विद्यालयको नतिजा कमजोर

जिल्लाभर सुधारिँदै शैक्षिक अवस्था
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २९, २०८३
शिक्षक नेताकै पालिकामा शैक्षिक संकट : अधिकांश विद्यालयको नतिजा कमजोर

बाजुरा : जिल्लाभर यस वर्षको एसइई नतिजामा सुधार देखिए पनि बुढीगंगा नगरपालिकाको शैक्षिक अवस्था भने कमजोर देखिएको छ। सबैभन्दा बढी शिक्षित नागरिक बसोबास गर्ने, सरकारी सेवामा आबद्ध कर्मचारीको बाक्लो उपस्थिति रहेको तथा शिक्षक नेतादेखि राजनीतिक दलका प्रभावशाली नेताको बसोबास रहेको पालिकाकै विद्यालयको नतिजा निराशाजनक देखिएपछि चौतर्फी आलोचना सुरु भएको छ।

बुढीगंगा नगरपालिकाले सार्वजनिक गरेको एसइई २०८२ को तथ्यांक अनुसार पालिकाभरका ४२० विद्यार्थीमध्ये जम्मा ६१ जनाले मात्रै ग्रेड प्राप्त गरेका छन्। यो कुल सहभागीको करिब १४.५२ प्रतिशत मात्र हो। पालिकाभित्रका अधिकांश विद्यालयको अवस्था झन् कमजोर देखिएको छ। त्रिशक्ति माध्यमिक विद्यालयबाट सहभागी २६ जनामध्ये १ जना मात्रै ग्रेडेड भएका छन् भने पशुपति माविबाट ७८ मध्ये ३ जना मात्र उत्तीर्ण भएका छन्।

धुरालसेन माविबाट ३७ मध्ये १ जना, सिगाडा माविबाट ६६ मध्ये ३ जना, शारदा माविबाट ४१ मध्ये २ जना र भगवती माविबाट ४५ मध्ये २ जना मात्रै ग्रेडेड भएका छन्। थुमा माविको अवस्था केही राम्रो देखिए पनि ३३ मध्ये ५ जनाले मात्र ग्रेड प्राप्त गरेका छन्। पालिकाको सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको भानोदय माध्यमिक विद्यालयमा भने प्राविधिक धारतर्फ केही सुधार देखिएको छ। प्राविधिक धारका ४७ विद्यार्थीमध्ये ३७ जना ग्रेडेड भएका छन्। तर साधारण धारमा ४५ मध्ये ७ जना मात्र ग्रेडेड भएका छन्।

बुढीगंगा नगरपालिकालाई जिल्लाकै ‘शिक्षित पालिका’का रूपमा चिनिन्छ। यहाँ कांग्रेस, एमाले, रास्वपा र नेकपासहितका प्रमुख दलका शीर्ष नेता, शिक्षक नेता तथा सरकारी सेवामा रहेका व्यक्तिहरूको बसोबास छ। गएको निर्वाचनमा एमालेबाट लालबहादुर थापा, रास्वपाबाट हेमराज थापा र नेकपाबाट प्रकाश शाह उम्मेदवार बनेका थिए। शिक्षक संगठनका जिल्ला र केन्द्र तहसम्म प्रभाव राख्ने नेताहरू यही पालिकाका विद्यालयसँग जोडिएका छन्।

तर उनीहरूकै विद्यालयको नतिजा कमजोर आएपछि अभिभावक र स्थानीयले शिक्षण गुणस्तरमाथि गम्भीर प्रश्न उठाएका छन्। “नेता उत्पादन गर्ने पालिकाले विद्यार्थी उत्पादन गर्न सकेन,” भन्दै सामाजिक सञ्जालमा आलोचना बढिरहेको छ।

यता नगरपालिकाका केही प्रतिनिधि र शिक्षकहरूले भने यस वर्ष परीक्षा ‘कडा’ भएका कारण नतिजा कमजोर देखिएको दाबी गर्दै बचाउ गरिरहेका छन्। तर जिल्लाका अन्य पालिकामा नतिजा सुधार भइरहेका बेला बुढीगंगाको अवस्था झन् खस्किनु शिक्षा व्यवस्थापनमाथिको गम्भीर प्रश्न बनेको छ।

प्रतिक्रिया