गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:५६

गौमुलमा विद्यालय दिवा खाजालाई प्रभावकारी बनाइँदै, कार्यविधि निर्माण सम्बन्धि कार्यशाला

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख २८, २०८३
गौमुलमा विद्यालय दिवा खाजालाई प्रभावकारी बनाइँदै, कार्यविधि निर्माण सम्बन्धि कार्यशाला

बाजुरा : गौमुल गाउँपालिकामा दिवा खाजालाई थप प्रभावकारी बनाउँन कार्यविधि निर्माण गरिएको छ । स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा  कार्यविधि निर्माण तथा मेन-डिजाईन सम्बन्धि कार्यशाला सञ्चालन गरिएको हो ।

विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग तथा गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि, गाउँपालिका शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधनाध्यापक, कृषक, सहकारीका प्रतिनिधि लगायतको उपस्थितिमा दिवा खाजा कार्यविधि तयार पारिएको छ ।

गाउँपालिका उपाध्यक्ष तथा दिवा खाना संयोजक सिता थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यशाला कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष हरिबहादुुर रोकाया रहनुभएको थियो । कार्यशालामा संयुक्त छलफलसहित कार्यविधि निर्माण गरिएको छ । 

दिवा खाजामा अब स्थानीय उत्पादनलाई मात्र जोड दिइने छ । भने विद्यालयमा बालबालिकालाई अर्गानिक तथा पोषणयुक्त खाजा खुवाईने भएको छ । दिवा खाजा कार्यक्रमका लागि वार्षिक ५२ लाख २० हजार रुपैयाँ छुट्याइएको विश्व खाद्य कार्यक्रम जिल्ला संयोजक दान बहादुर साउँदले बताएका छन् । 

कार्यशालामा यसअघि दिवा खाजा सञ्चालनका चुनौति, अवसर, समस्या र समना गर्नु परेका विषयहरुमा घनीभूत छलफल गर्दै नयाँ कार्यविधि तयार पारिएको उनले बताए ।

दिवा खाजा शिक्षा, स्वास्थ्य तथा पोषण, सामाजिक संरक्षण, लैगिङ्ग समानता र स्थानीय खाद्य उत्पादन वृद्धिमा निकै टेवा पुर्याउने कार्यक्रम भएकाले यसलाई थप प्रभावात्मक बनाउन संयुक्त रुपमा बृहत छलफल गरी आगामीक योजना सहीत कार्यविधि निर्माण गरिएको शिक्षा शाखा प्रमुख राम नाथले बताएका छन् ।  

कार्यशालामा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको ३० प्रतिशत पौष्टिक आहार सुनिश्चित हुने गरी कार्यविधि तयार, २० रुपैयाँ प्रति विद्यार्थीमा समिति रहेर मेनु तयार, चार खाद्य समूह अनिवार्य रुपमा समावेश, बालबालिकालाई मन पराउने खाजा परिकारको पहिचान, स्थानीय उत्पादनलाई मध्येनजर गरी खाद्य मेनु निर्माण गरिएको उनले बताए । 

कार्यशालामा स्थानीय स्तरमा उत्पादित खाद्य वाली तथा तरकारीको पहिचान गरी मूल्य समेत निर्धारण गरिएको छ । जसमा कोदो प्रति किलो रु.५०, जौँ/फलेको रु.५०/पिठो रु. ६०, गहुँ दाना रु.५०/पिठो रु.६०, मकैँ दान रु.५०/पिठो रु.५५, फापरको पिठो रु.१००, कागुनोको पिठो रु.१००, चिनोको पिठो रु.१०० निर्धारण गरिएको छ ।

दलहन तर्फ सिमी प्रति किलो रु.१८०, भट्मास रु.८०, केराउ रु.१००, मुसुरो/मास रु.१८० निर्धारण गरिएको छ । भने हलेदो प्रति किलो रु.१५०, खुसार्नी सुकेको रु.५००, टिय्मुर रु.१००, अदुवा रु.१५०, धनिया रु.४० प्रति किलो, लसुन रु.१५० मूल्य निर्धारण गरिएको छ । सोही मूल्यको आधारमा दिवा खाजाका लागि कृषकहरुबाट खरिद गरिने भएको छ ।

आज सुरु भएको कार्यशाला भोली सम्पन्न हुने भएको छ । कार्यशालामा सहभागिहरुले दिवा खाजा प्रभावकारी बनाउन विद्यालयको दिवा खाजाको व्यवस्थापनमा बहुपक्षीय संलग्नत हुने भएकाले सम्बन्धित निकाय, पदाधिकारी, समिति र सरोकारवाला निकायले आफ्नो जिम्मेवारी पूरा गरी सुधारका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रम कार्यान्वयन गर्ने मूल जिम्मेवारी स्थानीय तहको भएकाले नियमित अनुगमन, सहजीकरण र सहकार्यलाई थप सशक्त बनाउने गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । 

गाउँपालिका उपाध्यक्ष तथा दिवा खाना संयोजक सिता थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यशाला कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष हरिबहादुुर रोकाया रहनुभएको थियो । 

गाउँपालिका शिक्षा शाखा प्रमुख राम नाथले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाध्यक्षहरु देव बहादुर रोकाया, गोरख बोहरा, देव रोकाया, अमर वि.क, प्रकाश रोकाया, गाउँपालिका शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, कृषक, सहकारीका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।   

प्रतिक्रिया