गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०५:००

जनताको भरोसाको केन्द्र बन्यो बडीमालिका, समता सूचकमा जिल्लाकै उत्कृष्ट स्थानीय तह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख २६, २०८३
जनताको भरोसाको केन्द्र बन्यो बडीमालिका, समता सूचकमा जिल्लाकै उत्कृष्ट स्थानीय तह

बाजुरा : बडीमालिका नगरपालिका शिक्षा क्षेत्रको समता सूचकमा बाजुरा जिल्ला कै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको पछिल्लो तथ्याङ्क अनुसार नगरपालिकाले जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो।

साथै, नगरपालिकाले सुदूरपश्चिम प्रदेश का उत्कृष्ट ९ स्थानीय तहभित्र स्थान बनाउन सफल भएको छ भने देशभर २१२औँ स्थान सुरक्षित गरेको जनाएको छ।

शिक्षामा पहुँच, समावेशिता, समान अवसर तथा शैक्षिक गुणस्तरलाई आधार मानेर तयार गरिने उक्त सूचकमा प्राप्त सफलता नगरपालिकाको शिक्षा सुधार अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

पछिल्ला वर्षहरूमा विद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा नगरपालिकाले विशेष प्राथमिकताका साथ काम गर्दै आएको छ।

नगर प्रमुख अमर खड्काले शिक्षा क्षेत्रसँग जोडिएका सम्पूर्ण सरोकारवालाको साझा मेहनत र प्रतिबद्धताका कारण यो सफलता हासिल भएको बताए । उनले भने, “नगरपालिकाले शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। विद्यालयको भौतिक पूर्वाधारदेखि गुणस्तरीय शिक्षण–सिकाइ वातावरण निर्माणसम्म निरन्तर लगानी र सुधारका प्रयास भएका छन्। यो उपलब्धिले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ।”

उपप्रमुख नन्दा थापा ले दुर्गम क्षेत्रका बालबालिकालाई समेत शिक्षाको समान पहुँच सुनिश्चित गर्न नगरपालिकाले विशेष ध्यान दिएको बताइन्। उनका अनुसार सबै पक्षको सहकार्य र प्रतिबद्धताले नै यो सफलता सम्भव भएको हो।

शिक्षा शाखाका शिक्षा अधिकृत राम बहादुर कटुवाल ले विद्यालय सुधार, शिक्षक व्यवस्थापन र तथ्याङ्कमा आधारित योजना निर्माणका कारण सकारात्मक नतिजा देखिएको बताए।

उनले नगर शिक्षा योजना निर्माणको कामलाई पनि अगाडि बढाइएको जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी, व्यवस्थित र गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।

नगरपालिकाले स्थानीय तहमा गुणस्तरीय तथा समतामूलक शिक्षा सुनिश्चित गर्न निरन्तर काम गरिरहेको जनाएको छ। शिक्षा क्षेत्रमा प्राप्त यो उपलब्धिले बडीमालिका नगरपालिका लाई जिल्लामात्र नभई प्रदेशस्तरमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित गरेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया