बाजुरा ः क्रिएटर जोन एकेडेमी प्रा.लि.ले शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी अनुशासन सुदृढीकरण तथा व्यवहारिक शिक्षालाई प्रभावकारी बनाउने उद्देश्य सहित नियमित स्टाफ बैठक सम्पन्न गरेको छ ।
बाजुराको सदरमुकाम मार्तडीस्थित विद्यालयमा आयोजित बैठकले आगामी शैक्षिक गतिविधिलाई अझ व्यवस्थित, सिर्जनात्मक र परिणाममुखी बनाउने विभिन्न महत्वपूर्ण निर्णय गरेको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल मीनबहादुर कार्कीका अनुसार बैठकले विद्यार्थीको अनुशासनलाई विद्यालयको पहिलो प्राथमिकतामा राख्दै अध्ययनमा कमजोर देखिएका विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसबाट प्रत्येक विद्यार्थीको सिकाइ उपलब्धि सुधार हुने विश्वास विद्यालयले लिएको छ । त्यसैगरी, कक्षाकोठामा आधुनिक तथा शैक्षिक सामग्रीको प्रयोग गरी व्यवहारिक र प्रभावकारी पठनपाठन सञ्चालन गर्ने, वार्षिक कार्यतालिका अनुसार नियमित शुक्रबारीय अतिरिक्त कार्यक्रम सञ्चालन गर्ने तथा विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा जोड दिने निर्णय समेत गरिएको छ ।
बैठकले विद्यालयमा विज्ञान प्रयोगशाला र संगीत कक्षा नियमित सञ्चालन गरी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक तथा सिर्जनात्मक शिक्षामा अभ्यस्त गराउने नीति अघि सारेको छ ।
विशेषगरी, विद्यालयले शैक्षिक सत्र २०८३ लाई “अंग्रेजी बोली सुधारात्मक वर्ष” का रुपमा मनाउने घोषणा गरेको छ । विद्यालय परिसरभित्र विद्यार्थी तथा शिक्षकबीच अंग्रेजी भाषाको प्रयोगलाई प्रोत्साहन गर्दै विद्यार्थीको बोल्ने शैली, आत्मविश्वास र प्रस्तुतीकरण क्षमता विकासमा विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
बैठकमा विद्यालयका व्यवस्थापक मानबहादुर कार्की लगायत सम्पूर्ण शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागी शिक्षकहरुले विद्यालयको शैक्षिक उन्नयन, अनुशासन कायम, विद्यार्थीमैत्री वातावरण निर्माण तथा अभिभावकको विश्वास जित्ने विषयमा आ-आफ्ना धारणा राखेका थिए । पछिल्लो समय क्रिएटर जोन एकेडेमी प्रति अभिभावक तथा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ ।
गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, दक्ष शिक्षक टोली तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको कारण विद्यालय स्थानीय समुदाय माझ विश्वासिलो शैक्षिक संस्थाको रुपमा स्थापित हुँदै गएको अभिभावकहरुको भनाइ छ ।
विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट नतिजा, आधुनिक शिक्षण पद्धति र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





प्रतिक्रिया