बाजुरा : गौमुल गाउँपालिका-४ मा शसक्त र सवल समाज निर्माणका लागि बृहत युवा भेला सम्मेलन तथा जनचेतनामूलक साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ ।
“देशको सुन्दर भविष्य बोकेका आजका युवाहरु” भन्ने मूल नाराका साथ माउण्टेन भिजन युवा क्लवको आयोजना वडाको प्रायोजन र पीसविन नेपाल, एच.आर.सी बाजुरा, सहकर्मी समाजको सहयोगमा बृहत युवा भेला कार्यक्रम गरिएको हो ।
युवाहरुलाई सक्षम र सकारात्मक बाटोमा लैजान कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । हरेक परिवर्तनका क्षणमा युवाहरु अग्रपंक्तिमा रहने भएकाले क्षमता अभिवृद्धि, नेतृत्व विकास र सामाजिक रूपान्तरणमा उनीहरूको भूमिकालाई थप सशक्त बनाउन बृहत युवा भेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा जनचेतनामूलक सडक नाटक, टोलस्तरीय देउडा, नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा अधिकांस बोल्ने वक्ताहरुले अहिलेको परिस्थितिमा युवाहरुका लागि वडाध्यक्ष अमर वि.कले महत्वपूर्ण अभ्यासको सुरुवात गरेकाे भन्दै खुशी व्यक्त गरे । सुन्दर घर, समाज र राष्ट्र निर्माण युवाहरुको काधमा रहेकाले युवाहरुले सिर्जनशील कामसहित सकारात्मक बाटोमा हिड्नु पर्नेमा जोड दिएका छन् ।
विश्व प्रविधिसंग जोडिदै युवाहरुले व्यवसायीक रुपमा अगाडी बढ्नुपर्ने बताएका छन् । कार्यक्रममा वडाध्यक्ष अमर बहादुर विकले देशको हरेक काल खण्डमा युवाका कारणले मात्र परिवर्तन सम्भव भएको बताएका छन् । व्यक्तिको जीवन, परिवार, समाज र देश परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेकोले असल विचार, असल सोच र असल गन्तव्यसहित अगाडी बढ्नुपर्ने बताए ।
वडाध्यक्ष विकले अब युवाहरुले उत्पादनमूलक काममा बढी ध्यान दिनुपर्ने बताउँदै जीवन सुन्दर र सफल बनाउन प्रत्येक व्यक्तिले असल सपना देख्न आवश्यक रहेको बताए ।
उनले भने, “एउटा युवाले असल सोच, असल परिकल्पना, असल सपना देखेन भने त्यो व्यक्ति सफल हुन सक्दैन्, त्यो व्यक्तिको जीवन र परिवार सुन्दर र राम्रो बन्दैन्, त्यसैले युवा युवतिहरुले सकारात्मक सोचसहित अथाह उर्जा उत्पादनमूलक काममा जोड दिनु पर्छ ।”
उनले अग्रपंक्तिमा युवा भएन भने जुनसुकै काम पनि असम्भव हुने बताउँदै विभिन्न गतिविहरुमा सशक्त हुनुपर्ने धारणा व्यक्त गरे । युवा देशको मेरुदण्ड रहेकाले पछिल्लो समय जुन तीब्र गतिमा चलिरहेको विज्ञान र प्रविधिसंगै सकारात्मक बाटोमा अघि लम्कन सुझाव दिए ।
वडाध्यक्ष विकले भविष्यलाई राम्रो बनाउन अहिले नै सचेत हुनुपर्ने बताएका छन् । पछिल्लो समय धेरै युवायुवति कुलत फस्ने, बालविवाह गर्ने लगायतका गलत लतमा फसिरहेकाले यसलाई नियन्त्रण गर्न सर्वप्रथम अभिभावकले जिम्मेवार बन्न आवश्यक रहेको उनले बताएका छन् ।
माउण्टेन भिजन युवा क्लबका अध्यक्ष भुपाल बहादुर रोकायको अध्यक्षतामा सञ्चान भएको कार्यक्रम प्रमुख अतिथिमा वडाध्यक्ष अमर विक रहनु भएको थियो । अतिथिमा वडा सदस्य मंगल धामी, तुसार सार्की, गिता रोकाया, जना सार्की, नेकपा एमाले गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया, कीतिचौर माविका शिक्षक रोहित थापा, ई.प्र.का प्रतिनिधि भक्तराज जोशी, एच.आर.सी बाजुराका परियोजना संयोजक दिल बहादुर धामी रहनुभएको थियो ।
त्यस्तै पीसविन नेपालका फिल्ड सुपरभाईजर विरेन्द्र रावल, एकीकृत मानाकोट लेकाली सहकारी संस्थाका अध्यक्ष धन बहादुर रोकाया, रेडियो गौमुलका समाचार प्रमुख प्रमित वि.क, ६ नम्बर वडास्तरीय युवा क्लवका अध्यक्ष राेहित वि.क लगायत पनि अतिथिमा रहनुभएको थियो । अविनाश रोकायाले सञ्चालन गरेको कार्यक्रममा युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।





प्रतिक्रिया