बाजुरा ः बाजुराको बडीमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूको विदा व्यवस्थापनमा देखिएको जटिलता समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष नीतिगत स्पष्टताको माग गर्दै औपचारिक पत्राचार गरेको छ।
संघीय सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गरेपछि विद्यालयहरूले वार्षिक न्यूनतम २२० शैक्षिक दिन पूरा गर्न व्यावहारिक कठिनाइ भोगिरहेको नगरपालिकाको ठहर छ। यस सन्दर्भमा नगरपालिकाले हप्तामा एक दिन मात्रै बिदा कायम गर्नु उपयुक्त हुने सुझाव अघि सारेको छ।
नगर प्रमुख अमर खड्काद्वारा मन्त्रालयका सचिवलाई सम्बोधन गरी पठाइएको पत्रमा हालको दुई दिने बिदा प्रणाली, चाडपर्व तथा प्रशासनिक बिदाहरूको समष्टिगत प्रभावले विद्यालयमा वास्तविक पठन-पाठन दिन उल्लेखनीय रुपमा खुम्चिँदै गएको उल्लेख गरिएको छ। यस अवस्थाले शैक्षिक गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि तथा नियमित अध्ययन प्रक्रियामा प्रत्यक्ष नकारात्मक असर पारिरहेको दाबी गरिएको छ।
शिक्षा नियमावली, २०५९ को नियम ८४ (५) अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय सञ्चालन हुनुपर्ने कानुनी प्रावधान विद्यमान रहे पनि वर्तमान बिदा संरचनाले उक्त व्यवस्था कार्यान्वयनमा बाधा पुर्याइरहेको नगरपालिकाको निष्कर्ष छ।
प्रधानाध्यापकहरुको परामर्श बैठक, शिक्षा समितिको सिफारिस तथा कार्यपालिका बैठकबाट समेत स्थानीय शैक्षिक अवस्था, भौगोलिक जटिलता र सिकाइ वातावरणलाई दृष्टिगत गर्दै विदा व्यवस्थामा पुनर्विचार अपरिहार्य भएको ठहर गरिएको छ।
नगरपालिकाले दुई दिने बिदा प्रणालीका कारण उत्पन्न समस्याहरु पनि औंल्याएको छ। जसमा वार्षिक २२० शैक्षिक दिन पूरा गर्न कठिनाइ, पाठ्यक्रम समयमै सम्पन्न गर्न असमर्थता, सिकाइ उपलब्धिमा गिरावट, परीक्षा तयारीमा अवरोध तथा विद्यालय सञ्चालनको अनियमितताका कारण विद्यार्थीमा अनुशासन र निरन्तरताको कमजोरी उल्लेख छन्।
त्यसैगरी लामो समय विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयबाट निजी संस्थागत विद्यालयतर्फ विद्यार्थी पलायनको जोखिम बढ्दै जाने, ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यार्थीहरू घरायसी र कृषि कार्यमा बढी संलग्न भई अध्ययनबाट विमुख हुने सम्भावना पनि बढ्ने नगरपालिकाले जनाएको छ।
स्थानीय सन्दर्भमा यातायात, ऊर्जा तथा प्रशासनिक जटिलता न्यून रहेको अवस्थामा दुई दिने बिदाको औचित्य कमजोर देखिएको निष्कर्ष सहित नगरपालिकाले शनिबार मात्र बिदा दिने अभ्यासलाई पुनः लागू गर्नु शैक्षिक दृष्टिले बढी व्यवहारिक र प्रभावकारी हुने दाबी गरेको छ।
नगर प्रमुख खड्काले मन्त्रालय समक्ष सामुदायिक विद्यालयहरूको विदा व्यवस्थापनमा तत्काल नीतिगत स्पष्टता, आवश्यक परिमार्जन तथा स्थानीय तह अनुसार लचिलो कार्यान्वयन निर्देशिका जारी गर्न आग्रह गरेका छन्।





प्रतिक्रिया