गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०१:०९

बाजुरा-काठमाडौं बस भाडा वृद्धि : अब ५ हजार रुपैयाँभन्दा बढी तिर्नुपर्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २६, २०८२
बाजुरा-काठमाडौं बस भाडा वृद्धि : अब ५ हजार रुपैयाँभन्दा बढी तिर्नुपर्ने

बाजुरा ः सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको बढोत्तरीपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गरेको हो।

नयाँ दरअनुसार बाजुराबाट संघीय राजधानी काठमाडौंसम्म यात्रा गर्दा अब न्यूनतम ३,६५६ रुपैयाँदेखि अधिकतम ५,२६४ रुपैयाँसम्म बस भाडा लाग्नेछ।

विभागले बुधबारदेखि लागू हुने गरी निर्धारण गरेको भाडादरअनुसार नर्मल बसको भाडा ३,६५६ रुपैयाँ, डिलक्सको ४,३८७ रुपैयाँ र सुपर डिलक्स बसको भाडा ५,२६४ रुपैयाँ कायम गरिएको छ।

यसअघि २०८१ साल पुस २२ गते कायम गरिएको भाडादरअनुसार नर्मल बसको ३,१३२ रुपैयाँ, डिलक्सको ३,७५९ रुपैयाँ र सुपर डिलक्सको ४,५१० रुपैयाँ थियो।

मार्तडीस्थित बस काउन्टरका अनुसार, यसअघि बाजुराबाट काठमाडौंसम्मको भाडा करिब ४,५५० रुपैयाँ रहेकोमा अहिले बढेर करिब ५,१०० रुपैयाँ पुगेको छ।

बाजुरा-काठमाडौं सडक दूरी ९४४.६ किलोमिटर रहेको छ र यस रुटमा नियमित रूपमा एसी बस सञ्चालन हुँदै आएका छन्। यातायात व्यवस्था विभागका अनुसार डिजेलको मूल्य वृद्धि तथा अन्य १३ वटा सूचकहरूको विश्लेषणका आधारमा भाडा समायोजन गरिएको हो।

नयाँ व्यवस्थाअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।

यो नयाँ भाडादर अन्तरप्रदेशीय यात्राका लागि मात्र लागू हुने विभागले जनाएको छ। एक प्रदेशभित्रको भाडा दर भने सम्बन्धित प्रदेश सरकारले निर्धारण गर्नेछ।

प्रतिक्रिया