बाजुरा : गौमुल गाउँपालिका-३ मा बालविवाह न्यूनीकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा बालविवाह जस्ता हानिकारक चलनबारे सचेतनात्मक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।
बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि बालविवाह न्यूनीकरण गर्ने उद्देश्यसहित वडा कार्यालयले अभिभावकसंग अन्तरक्रिया गरेको वडाध्यक्ष गोरख बहादुर बोहराले बताएका छन् ।
पछिल्लो समय वडामा बालविवाह बढ्ने सम्भावना देखिएकाले सजक बनाउँन जनचेतनामुलक कार्यक्रमको आयोजना गरी बालविवाहले जीवनमा पर्ने, पर्नसक्ने असरका बारेमा जानकारी गराईएको उनले बताए । कार्यक्रममा कानुनी प्रावधान र भविष्यमा आउने समस्याबारे अभिभावकलाई सचेत गराईएको हो । कार्यक्रममा कानुनी प्रवधान सम्बन्धी इलका प्रहरी गौमुलले सहजीकरण गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले समाजमा जरा गाडेको बालविवाह जस्तो कुरिती अन्त्य गर्न अभिभावक र स्वयंम किशोरीहरुले सक्रिय भूमिका खेल्न आवश्यक रहेको बताएकी छन् । शारीरिक, मानसिक र आर्थिक समस्याबारे सचेत गराएर अन्धविश्वासका नाममा हुने कुरीति नियन्त्रण गरी समाज समन्नुति तिर लैजनाका लागि बालविवाह घटनाउन आवश्यक रहेको उनले बताएकी छन् ।
वडाध्यक्ष गोरख बहादुर बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका उपाध्यक्ष सीता थापा रहनुभएको थियो । वडा सचिव मनिषा रोकाया सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्यका कर्मचारी, स्वास्थ्य स्वयंमसेविका, अभिभावक लगायतको उपस्थित रहेको थियो ।





प्रतिक्रिया