बाजुरा : गौमुल गाउँपालिकामा खानेपानी सरसफाई स्वच्छता वास योजना तयारीका लागि प्रारिम्भक बैठक बसेको छ । गौमुल गाउँपालिका जलवायु परिवर्तन अनुकुलन परियोजनाको आयोजनामा जनप्रतिनिधिसंग छलफल गरिएको हो ।
उपाध्यक्ष सीता थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत जगिदश प्रासद भट्ट, वडाध्यक्ष प्रकाश बहादुर रोकाया, देव बहादुर रोकाया, गोरख बोहरा, अमर विक, लक परियोजनाका टिम लिडर सान्नालिना राउटेनन, प्राविधिक सहायता सल्लाहकार कमल प्रसाद भट्ट, डि.एम. प्रमुख चन्द्रसिंह ठगुन्ना लगायतको उपस्थितिमा बैठक बसेको हो ।
वास प्लान अद्यावधिकका लागि तथ्याङ्क सङ्कलन गर्ने, जलवायु परियोजना असरलाई सम्बोधन गर्ने, वास सेवाको पहुँचमा समानता ल्याउन, खानेपानी तथा सरसफाई कार्यक्रमहरुमा हुनसक्ने दोहोरोपन रोक्न, स्थानीय स्रोत साधनको उचित र दिगो उपयोग गर्ने लगायत परियोजनाको लक्ष्य रहेका प्राविधिक सहायता सल्लाहकार कमल प्रसाद भट्टले बताएका छन् ।
एक घर एक धारा अवधारणा अनुसार धारा निर्माण गरिने भएको छ । बैठकमा खानेपानीको हालको अवस्था, निर्माण गर्नुपर्ने ठाउँको पहिचानसहित तथ्याङ्क सङ्कलन गरी योजना बनाईएको छ । बैठकमा खानेपानीका विद्यमान स्रोतहरू तथा मौजुदा खानेपानी तथा सरसफाइ सम्वन्धी संरचना÷सुविधाहरूको लगत संकलन गरी तथ्याङ्कको आधाररेखा तयार गरी अभिलेखन गरिएको छ ।
स्थानीय तह क्षेत्रभित्रका सेवा नपुगेका स्थान र पहुँच वाहिरका समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको पहिचान र सेवा प्रवाहको सुनिश्चितता सहित अल्पकालीन र दीर्घकालीन रणनीतिक योजना समेत बैठकले तयार पारेकाे छ ।
त्यस्तै बैठकमा संरचना र पुराना योजनाको हालको समग्र अवस्था, नयाँ योजनाको पहिचान गरिएको छ । परियोजना र गाउँपालिकाको सहकार्यमा प्रत्येक नागरिकका घर घरमा धारा निर्माण गरी खानेपानीको अभाव हटाइने भएको छ । भने आवश्यकताका आधारमा सार्वजनिक ठाउँमा धारा निर्माण गरिने भएको छ ।
बैठकमा लक परियोजनाका टिम लिडर सान्नालिना राउटेननले संरचनाहरु दिगो र गुणस्तरीय बनाउन सबैले उत्तिकै भूमिका खेल्नुपर्ने बताएकी छन् । स्थानीय तहमा विद्यमान श्रोतहरुको औचित्यपूर्ण तथा समतामूलक वितरण र समस्याको दिगो समाधान सहितको योजना निर्माण नै योजनाको प्रमुख लक्ष्य रहेकाले यसमा सबैको साथ सहयोग रहने विश्वस व्यक्त गरिन् ।
गाउँपालिका उपाध्यक्ष सीता थापाले खानेपानीको अवधारण अनुसार परियोजनासंग सहकार्य गरी बृहत खानेपानी योजनाहरु निर्माण गर्ने बताएकी छन् । प्रत्येक नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने लक्ष्यका साथ दीर्घकालीन रणनीतिक योजना तयार पारिएको उनले बताएकी छन् ।






प्रतिक्रिया