काठमाडौं ः नेपाल पत्रकार महासंघले ७१औँ स्थापना दिवसका अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र जिम्मेवार पत्रकारितामा अझ दृढ हुन आह्वान गरेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माले शुभकामना मन्तव्य दिँदै देश तथा विदेशमा रहेका सञ्चारकर्मीलाई बधाई व्यक्त गर्दै भनिन्, ‘देशैभरि र विश्वका विभिन्न स्थानमा रहेका सबै सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’
उनले विगतदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने अग्रजप्रति सम्मान प्रकट गर्दै सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन्। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा सहादत प्राप्त पत्रकारहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भनिन्। अध्यक्ष शर्माले महासंघले सात दशकभन्दा लामो इतिहासमा प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर काम गर्दै आएको उल्लेख गरिन्।
‘व्यावसायिक र जवाफदेही पत्रकारितामार्फत सुदृढ लोकतन्त्र र विधिको शासन स्थापना गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भनिन्। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मिथ्या सूचनाको चुनौती बढेको उल्लेख गर्दै उनले जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याइन्। ‘मिथ्या सूचनाको बढ्दो प्रवाहका बीच सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नु आजको मुख्य जिम्मेवारी हो,’ उनको भनाइ छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बनेको बलियो सरकारबाट राजनीतिक स्थिरता आउने अपेक्षा गर्दै उनले सञ्चारसम्बन्धी कानुन सरोकारवालासँग छलफल गरेर ल्याउन आग्रह गरिन्। साथै, जेन-जी आन्दोलनका क्रममा प्रभावित सञ्चारगृह र पत्रकारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन्।
प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेपको प्रतिवाद गर्ने प्रतिबद्धता जनाउँदै उनले भनिन्, ‘संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको नियन्त्रण स्वीकार्य हुँदैन।’
भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि करिब दुई तिहाइको सरकार बनेको भन्दै जेन-जी आन्दोलनको बेला मारमा परेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारहरूको महासंघले संकलन गरेको विवरणअनुसार क्षतिपूति दिलाउन जरुरी रहेको बताएकी छिन्।
‘भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि करिव दुई तिहाइको सरकार बनेको छ, यसले लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य हुने विश्वास महासंघले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुन र आवश्यक कानुन महासंघसहित सरोकारवाला पक्षसँग छलफल गरी ल्याउन सरकारसँग आग्रह गर्दछ।
त्यस्तै जेन्जी आन्दोलनको बेला मारमा परेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारहरूको महासंघले संकलन गरेको विवरणअनुसार क्षतिपूति दिलाइ मनोबल बढाउन जरुरी छ।’





प्रतिक्रिया