बाजुरा ः नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाजुरा जिल्ला कमिटीको आयोजनामा आइतबार प्रतिशोध विरुद्ध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
“म केपी ओली, मलाई पनि जेल हाल”, “म पनि केपी ओली हुँ”, “चुच्चे नक्सा जारी गरे वापत मलाई पनि गिरफ्तार गर”, “नाकाबन्दीको डटेर सामना गरे वापत मलाई पनि गिरफ्तार गर” जस्ता नारा सहित सयौं कार्यकर्ता सडकमा उत्रिएका थिए।
कार्यक्रममा सहभागीहरूले वर्तमान राजनीतिक परिवेशमा प्रतिशोधको राजनीति मौलाउँदै गएको भन्दै त्यसको कडा विरोध गरेका थिए। उनीहरूले विचार, आस्था र आन्दोलनलाई दबाउने प्रयास लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत भएको बताएका थिए।
प्रदर्शनका क्रममा वक्ताहरूले राष्ट्रिय स्वाभिमानका मुद्दाहरू जस्तै चुच्चे नक्सा जारी गर्ने निर्णय र नाकाबन्दीको सामना गर्ने अडानलाई अपराधको रूपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाए।
उनीहरूले यस्ता कार्यहरू राष्ट्रहितमा भएको दाबी गर्दै त्यसका लागि कुनै पनि नेता वा नागरिकलाई दण्डित गर्न खोजिनु गलत भएको बताएका थिए।
एमाले बाजुराका नेताहरूले राजनीतिक प्रतिशोधले देशको लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने चेतावनी दिँदै कानूनी राज्य र विधिको शासनको सम्मान गर्न सरकारसँग माग गरेका थिए।
उनीहरूले राज्यले निष्पक्षता अपनाउनुपर्ने र राजनीतिक आग्रह-पूर्वाग्रहका आधारमा कुनै पनि व्यक्तिमाथि कारबाही नगर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। सहभागीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेर बजार परिक्रमा गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका थिए।
प्रदर्शनले बाजुरामा मात्रै होइन, समग्र राजनीतिक वृत्तमा पनि प्रतिशोधको राजनीति विरुद्ध आवाज उठेकाे आयोजकहरूले बताएका छन्।






प्रतिक्रिया