धनगढी ः भारतको हैदराबादमा सुनचाँदीका गरगहना चोरी गरेकाे आराेप लागेका तीन जना नेपाली नागरिक पक्राउ परेका छन् भने अन्य तीन जना फरार फरार रहेका छन् ।
गरगहना चाेरीमा संलग्न रहेकाे आराेपमा जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-१२ बस्ने रुपा कुमारी सिंहलाई पक्राउ गरिएको जनाएको छ ।
जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले भारतमा भएको चाेरीकाे घटनामा संलग्न भएकाे अभियाेगमा सिंहलाई नियन्त्रणमा लिइएकाे बताए ।
उनकाअनुसार साेही घटनामा संलग्न अछामको ढकारी गाउँपालिका-८ बस्ने पदम जैशी पनि पक्राउ परेका छन् । जैशीलाई अछाम प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
कैलालीमा पक्राउ परेकी सिंहकाे साथबाट ६२ दशमलव ५५ ग्राम ताैल भएका सुनका बिभिन्न गरगहना, ५१७.५४ ग्राम चाँदीका गरगहना र बिस्कुट, हरियो पथ्थर २.४१ ग्रामकाे एक थान, मोतिको माला एक थान बरामद गरिएको छ ।
उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ । यस्तै चाेरिएकाे सुनचाँदी लुकाएकाे अवस्थामा दिल्लीबाट कैलालीको बर्दगोरिया गाउँपालिका–१ घर भएका कमल साउँदलाई भने भारतीय प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
उनकाे काेठाबाट विभिन्न सुनचाँदीका गरगहना र बिस्कुट बरामद गरिएको छ । याे घटनामा संलग्न अन्य तीन जना नेपाली भने फरार छन् । फरार हुनेमा कैलालीको बर्दगोरिया गाउँपालिका-१ बस्ने प्रकाश जैशी, श्याम जैशी र टेक शाही रहेका छन् । उनीहरूकाे खोजी भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया