बाजुरा ः बाजुराको दुर्गम बस्तीबाट जीवन बचाउने अन्तिम प्रयास स्वरूप हेलिकप्टर मार्फत उद्धार गरिएकी एक सुत्केरी आमा र उनका नवजात शिशुको अन्ततः ज्यान गएको छ ।
बडीमालिका नगरपालिका-१ सल्लेनाकी २१ वर्षीया सुरता कुमारी रोकाया र उनको शिशुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
मुटु रोगबाट पीडित सुरतालाई यसअघि नै चिकित्सकहरुले दोस्रो सन्तान नजन्माउन कडा सल्लाह दिएका थिए । तर परिस्थिति र बाध्यताबीच उनले पुनः गर्भधारण गरिन् ।
गर्भावस्थाको अन्तिम चरणमा पुग्दा उनको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गयो । गाउँमै उपचार सम्भव नभएपछि तत्काल उद्धारका लागि हेलिकप्टर मगाइयो ।
परिवार र स्थानीयबासीले ‘अब बच्नेछिन्’ भन्ने अन्तिम आशा बोकेर उनलाई आकाश मार्गबाट सुर्खेत पठाए । तर अस्पताल पुगेपछि चिकित्सकहरूको अथक प्रयासका बाबजुद पनि आमा र नवजात शिशु दुवैलाई बचाउन सकेनन् ।
यस घटनाले फेरि एकपटक दुर्गम भेगमा स्वास्थ्य सेवाको अभाव, सचेतनाको कमी र जोखिमपूर्ण गर्भधारणका समस्याहरु उजागर गरेको छ । आवश्यक परामर्श र नियमित उपचारको पहुँच नहुँदा यस्ता दुखद घटनाहरु दोहोरिने क्रम रोकिएको छैन् ।
स्थानीयबासीहरू शोकमा डुबेका छन् भने परिवारमा पीडाको भारी बोकेको छ । “हेलिकप्टर आयो, अब त बचिन्छ भन्ने लाग्यो तर नियतिले साथ दिएन,” एक आफन्तले भावुक हुँदै भने ।
यो घटना केवल एक परिवारको मात्र पीडा होइन, स्वास्थ्य प्रणाली सुधार र सचेतना अभिवृद्धिको लागि गम्भीर सन्देश पनि हो ।





प्रतिक्रिया