गाैमुल खबर डटकम आइतबार ०८, चैत २०८२ ०४:००

इन्सपेक्टर भण्डारीमाथि आरोपै आरोप : खसीदेखि असुलीसम्म, कुटपिटदेखि मुद्दा तोडमोडसम्म !

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ०८, २०८२
इन्सपेक्टर भण्डारीमाथि आरोपै आरोप : खसीदेखि असुलीसम्म, कुटपिटदेखि मुद्दा तोडमोडसम्म !

धनगढी ः कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत रहँदा बरामद वन्यजन्तुको अंग लुकाएको घटनामा कारबाही सिफारिस भएका प्रहरी निरीक्षक दानसिंह भण्डारीसहितका प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव नेतृत्वको छानबिन समितिको सिफारिसअनुसार कारबाही प्रक्रिया सुरु गरिएको हो। प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाको निर्देशनमा जिल्ला प्रहरी कार्यालय कैलालीले भण्डारीसहित सिफारिसमा परेका प्रहरीलाई जिल्ला झिकाएर कारबाही अघि बढाएको जनाएको छ।

हाल इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज रहेका भण्डारी उक्त समयमा मालाखेतीको मुद्दा फाँट प्रमुख थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली झिकाएर स्पष्टिकरण सोध्ने काम भइरहेको छ।

त्यसपछि प्रहरी नियमावली र प्रचलित कानुनअनुसार कारबाही गर्ने तयारी गरिएको छ। छानबिनमा परेका भण्डारीसहित १३ जना प्रहरीमाथि जिल्लाले थप अनुसन्धान गरिरहेको छ।

मालाखेतीमा मुद्दा फाँट प्रमुख हुँदा विभिन्न विवादमा मुछिएका भण्डारीबारे तथ्यसहित समाचार प्रकाशित भएपछि त्यसलाई रोक्न उनले विभिन्न व्यक्तिमार्फत फोन गराएका थिए। तर निरन्तर फलोअप गरेपछि भण्डारीले एक अनलाइनमार्फत आफूविरुद्धका आरोप अस्वीकार गर्दै समाचार असत्य भएको दाबी गराएका छन्।

सञ्चार माध्यममार्फत गरिएको यस्तो खण्डन पत्रकार आचारसंहिता विपरीत मानिन्छ। आचारसंहिताअनुसार सम्बन्धित व्यक्तिले समाचारप्रति असन्तुष्टि भए सोही सञ्चार माध्यममार्फत खण्डन पठाउनुपर्ने व्यवस्था छ।

पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ६ मा उजुरी तथा कारबाहीसम्बन्धी प्रावधान उल्लेख गरिएको छ। उपदफा (१) को खण्ड (क) अनुसार कुनै समाचार सामग्री तथ्यहीन, भ्रामक वा असन्तुलित लागेको अवस्थामा सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाले सोही सञ्चार माध्यममा प्रतिक्रिया वा खण्डन पठाउन सक्ने व्यवस्था छ।

त्यस्तो खण्डन प्रकाशन नभएमा प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधान छ। तर भण्डारीले यो प्रक्रिया अपनाउँदै प्रेसपत्रमा कुनै खण्डन पठाएका छैनन्। बरु केही व्यक्तिमार्फत समाचार रोक्न आग्रह गरेका थिए।

भण्डारीमाथि आरोपै आरोप

वन्यजन्तुको अंग लुकाएको घटनामा छानबिनमा तानिएका प्रहरी निरीक्षक दानसिंह भण्डारीको छवि विवादित देखिएको छ। लामो समय मालाखेतीको मुद्दा फाँट प्रमुख रहँदा विभिन्न आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि उनी छानबिनमा परेका हुन्।

उजुरीमा भण्डारीमाथि सार्वजनिक कसुरसम्बन्धी मुद्दालाई जातीय छुवाछुतमा परिणत गरेको, लागूऔषध मुद्दामा पैँसा असुली गरेको, गोदावरीको एक मन्दिरमा बस्ने महिलाको चेक बाउन्स मुद्दा मिलाइदिएबापत खसी लिएको तथा एक लेखनदासलाई थुनामा राखेर कुटपिट गरेको आरोप लगाइएको छ।

यद्यपि यी आरोपबारे छानबिनका क्रममा भण्डारीले स्पष्टिकरण दिइसकेका छन्। पछिल्लो प्रकरणमा भने उनीसँगै अन्य १३ जना प्रहरी पनि मुछिएका छन्, जसमा छानबिन गर्ने पाँच जना प्रहरी कर्मचारीसमेत परेका छन्।

गत साउन ९ गते गोदावरी नगरपालिका-८ बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए। तर मुद्दा दर्ता गर्ने क्रममा बरामद चित्तलको सिङ र खुट्टा गायब पारिएको दाबी गरिएको छ।

भण्डारीले भने आफू उक्त घटनाका बेला कार्यालयमै उपस्थित नभएको दाबी एक अनलाइनमार्फत प्रस्तुत गरेका छन्। तर विश्वस्त प्रहरी स्रोतका अनुसार यो दाबी गलत रहेकोे छ। मालाखेतीको हाजिर रजिस्टर हेरेमा सबै कुरा छर्लङ्ग हुने बताइन्छ ।

यसबीच, धनगढी आएका भण्डारी आफूविरुद्धको घटनामा अन्य प्रहरीमाथि आरोप थोपर्न थालेका छन् । उच्च स्रोतका अनुसार भण्डारी घटना भएको केही समयपछि मात्र विदामा बसेका थिए। प्रेसपत्रमा प्रकाशित समाचारमा आएका पाठक प्रतिक्रियाले पनि उनको विवादित पृष्ठभूमि देखाउने दाबी गरिएको छ, यद्यपि ती कुरा स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

भण्डारीसहित १३ प्रहरी जिल्ला तानिएको समाचार सामाजिक सञ्जालमा समेत उनका विगतका विवादीत कुराहरु आइरहेका छन्। भण्डारी इलाका प्रहरी कार्यालय बेलौरीमा रहँदा पनि विवादमा पर्ने गरेको आरोप छ।

प्रहरी प्रधान कार्यालयमा परेको उजुरीबारे प्रतिक्रिया लिन खोज्दा भण्डारीले जिल्ला प्रहरी कार्यालय कैलालीमा बयान दिइसकेको भन्दै थप जानकारी त्यहीँबाट लिन आग्रह गरे।

यसअघि पनि तत्कालीन डीएसपी गंगाबहादुर थापा मालाखेतीका प्रमुख हुँदा भण्डारी विवादमा तानिएका थिए। मुद्दा फाँटमा पेशागत आचारसंहिताविपरीत काम गरेको आरोपमा जिल्लाले उनीमाथि छानबिन गरेको थियो। सो क्रममा भण्डारी मुद्दा फाँटकै अर्का प्रहरीको टाउकोमा आरोप थाप्दै उम्किन सफल भएको स्रोत बताउँछ ।

त्यो बेला भण्डारीलाई कारवाही गर्नुपर्नेमा मुद्दा फाँटकै अर्का प्रहरीलाई टिकापुर सरुवा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले पछिल्लो छानबिन प्रतिवेदनका आधारमा विवादमा मुछिएका सबै प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। यो समाचार प्रेसपत्रबाट साभार गरिएको हो ।

प्रतिक्रिया